शहरहरूमा एआईको प्रयोग नयाँ होइन । विश्वभरका शहरहरूले सञ्चालन, सेवा, यातायात र पूर्वाधार सुधारका लागि एआईलाई प्रयोग गर्दै आएका छन् । अहिले यसको व्यापक प्रयोगसँगै एआईको उत्कृष्ट प्रयोग कसरी गर्ने भन्ने मूल्यांकन गर्ने अवसर आएको छ । एक अर्काबाट सिकेर यो प्रविधिबाट अधिकतम लाभ उठाउने उपायहरू पत्ता लगाउने समय आएको छ ।
त्यही उद्देश्यले डेलोइटले हालै सार्वजनिक गरेको ‘एआईले सञ्चालन गर्ने भविष्यका शहरहरू’ प्रतिवेदनले ७८ देशका २५० शहरहरूमा एआईको योजना, लगानी र अभ्यासबारे विश्लेषण गरेको छ । अध्ययनअनुसार जुन शहरहरूले एआईलाई विविध क्षेत्रमा प्रयोग गरेका छन् । तिनीहरू आजका सबैभन्दा जटिल शहरी चुनौतीहरू सामना गर्न अझ सक्षम छन् । तिनीहरूले त्यो क्षमता हासिल गर्न के गरे भन्ने कुरा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कसले कसरी एआईबाट फाइदा लिइरहेका छन् ?
प्रतिवेदनअनुसार सर्वेक्षण गरिएका शहरमध्ये आधाभन्दा बढीले अहिले एआई सक्रिय रूपमा प्रयोग गरिरहेका छन् । ३५ प्रतिशतले परीक्षण गरिरहेका छन् वा योजना बनाइरहेका छन् । शहरहरूले प्रभावकारी ठानेका शीर्ष १० एआई प्रयोग निम्न छन् : ट्राफिक व्यवस्थापन, सार्वजनिक सुरक्षा, ऊर्जा व्यवस्थापन, ग्राहक सेवा, पूर्वानुमान–आधारित मर्मत, फोहोर व्यवस्थापन, निर्णय–विश्लेषण, शहरी योजना, साइबर सुरक्षा र ठगी पहिचान ।
यी प्रयोग क्षेत्रहरूले धेरै क्षेत्र समेटे पनि वास्तवमै एआईले शहरहरूलाई दीर्घकालीन कठिन चुनौतीहरू, जस्तै दिगोपन, पुरानो पूर्वाधार, सार्वजनिक स्वास्थ्य र अपराध नियन्त्रणमा सहयोग पुर्याइरहेको छ त भन्ने प्रश्न उठेको छ ।
उत्तर पाउनका लागि प्रतिवेदनमा ‘एआई लिडर्स’ भनेर चिनिएका शहरलाई हेर्नुपर्छ । यी शहरहरू परम्परागत एआई र जेनेरेटिभ एआई दुवैको प्रयोगमा परिपक्व मानिन्छन् । तिनीहरूले जिम्मेवार एआई प्रयोग र भविष्यको एआईको आधार तयार पारिसकेका छन् । २५० मध्ये २० प्रतिशत शहर ‘एआई लिडर’ मानिएका छन् । तीमध्ये ७८ प्रतिशतले आफूहरू शहरी चुनौतीहरू सामना गर्न तयार भएको बताएका छन् । तर, कम परिपक्व शहरमध्ये ६३ प्रतिशतले त्यस्तो तयारी देखाएका छन् । यद्यपि, अत्यन्तै राम्रो तयारी भएको महसुस गर्ने शहरहरूको संख्या एआई लिडरहरूमा झन्डै तीन गुणा बढी छ ।
आपूर्ति शृंखला, भूराजनीति र सामाजिक–आर्थिक चुनौतीहरूजस्ता जोखिमहरूमा पनि एआई लिडरहरूले अन्य शहरहरूको तुलनामा दोब्बर आत्मविश्वास देखाएका छन् । साथै, स्वास्थ्य–सुरक्षा, पूर्वाधार र प्रविधिको क्षेत्रमा तिनीहरू अझ लचिलो र सक्षम महसूस गर्छन् ।
एआई लिडरहरूबाट सिक्दै
कम परिपक्व शहरहरूले निम्न अभ्यासहरू अनुसरण गरेर एआईबाट अधिकतम लाभ लिन सक्छन् ।
शीर्ष तहबाट प्रतिबद्धता : एआई लिडरहरूमा विकासको स्पष्ट दृष्टिकोण, रणनीति र बजेट हुन्छ । धेरैजसो योजना राष्ट्रिय तहबाट शुरू भएर स्थानीय सरकारसम्म पुग्छ ।
आधुनिक डेटा र सूचनाप्रविधि (आईटी) पूर्वाधार निर्माण : क्लाउड–आधारित आईटी पूर्वाधारमा भर पर्ने यी शहरहरूले डेटा प्रणालीलाई समन्वय गरेर एकीकृत डेटा पहुँच सुनिश्चित गर्छन् ।
शीप, प्रतिभा र प्रक्रिया विकास : नेतृत्व, कर्मचारी र नागरिकलाई तालिम दिई भविष्यको एआई जनशक्ति निर्माण गर्छन् । धेरैजसो विश्वविद्यालयसँग सहकार्य गरेर एआई बुटक्याम्पहरू आयोजना गरिन्छ ।
एआई नवप्रवर्तन पारिस्थितिक प्रणालीको विकास : प्राविधिक कम्पनी, विश्वविद्यालय, स्टार्टअप र अनुसन्धानकर्ताहरूलाई एउटै मञ्चमा ल्याई सहकार्य गरिन्छ । कहिलेकाहीँ सस्तो र सुसंगत डिजिटल समाधानका लागि सेवाप्रदायकहरूसँग सामूहिक छलफल गरिन्छ ।
शहरका विभिन्न क्षेत्र परिवर्तन : पूर्वानुमानमा आधारित मर्मत, नागरिक सेवा पोर्टल, र एजेन्टिक एआई (जो मानवीय हस्तक्षेपविना निर्णय लिन सक्छ) प्रयोग गरिन्छ । एआईजनित सिन्थेटिक डेटा प्रयोग गरेर डेटाको कमी र गोपनीयता समस्याको समाधान खोजिन्छ ।
अन्य प्रविधिहरूसँग संयोजन : क्लाउड, ब्लकचेन, इन्टरनेट अफ थिंग्स र डिजिटल ट्विन प्रविधिसँग एआईको संयोजन गरेर योजना, अनुकूलन र वास्तविक समय डेटा संकलनमा प्रयोग गरिन्छ ।
डेटा सुरक्षा र गोपनीयता सुनिश्चित : साइबर सुरक्षा प्रणालीमार्फत जोखिम नियन्त्रण गरिन्छ । एआईको प्रयोग गरेर साइबर आक्रमणको वास्तविक समयमा रोकथाम गरिन्छ ।
एआई प्रयोगको लाभ
एआई प्रयोगले काम सजिलो बनाउने मात्र होइन, पहिले सम्भव नभएका कामहरू पनि सम्भव बनाउँछ । जेनरेटिक एआईको माध्यमबाट अझ धेरै डेटा विश्लेषण र समाधानको बाटो खुल्छ । अहिले ८७ प्रतिशत शहरहरूले जेनरेटिक एआई योजना, परीक्षण, वा प्रयोग गरिरहेका छन् । एजेन्टिक एआईको प्रयोगले शहरहरूलाई अझ अगाडि पुर्याउने अपेक्षा गरिएको छ । तर, प्रविधिबाट पूर्ण फाइदा लिनका लागि शहरहरूले आफ्नो मिशनका कुन भागमा एआईले सहयोग गर्न सक्छ भन्नेमा ध्यान दिनुपर्छ । मानवीय निगरानी, विश्वास निर्माण र उचित नियन्त्रण अझै आवश्यक रहनेछ ।
यी कार्यहरू कठिन लागे पनि सफल एआई लिडर शहरहरूले देखाएको परिणाम आशाजनक छ । र त्यो हो : शहरी चुनौतीहरू सामना गर्न अझ मजबुत तयारी र लचिलोपन ।
(फोर्ब्समा प्रकाशित)