काठमाडौं । पूर्वअर्थमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले आन्तरिक ऋण लिन अब परियोजना तोकिनुपर्ने बताएका छन् ।
आइतवार राजधानीमा आयोजित प्रिबजेट छलफल कार्यक्रममा आफू अर्थमन्त्री हुँदा आन्तरिक ऋणका लागि क्षेत्र तोकेको बताउँदै उनले अब क्षेत्र मात्रै नपुग्ने भन्दै परियोजना तोकेर आन्तरिक ऋण लिनुपर्ने बताए ।
उनका अनुसार यसबारे वैकल्पिक वित्तसम्बन्धी सरकारले कोष स्थापना गर्न जारी गर्न लागेको विधेयकमा समेत त्यसबारे उल्लेख गरिँदैछ । ‘आन्तरिक ऋण सही ठाउँमा उपयोग गर्न अब क्षेत्र मात्रै तोकेर हुँदैन, परियोजना तोकेरै लिनुपर्छ, फजुल रुपमा लिनुहुँदैन,’ उनले भने ।
खतिवडाका अनुसार ऋण नउठाइ ५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैन । ‘हाम्रो राजस्वले चालू खर्च धान्न पनि सक्दैन, विकास गर्नका लागि ऋण लिनैपर्ने बाध्यता छ । ६–७ प्रतिशतको आर्थिक वृद्धिका लागि ऋण नलिइ हुँदैन । ५ प्रतिशत बढि वृद्धिदर हासिल गर्न हरेक अर्थमन्त्रीले ऋण लिनैपर्ने बाध्यता छ,’ उनले भने ।
खतिवडाले बजेटको आकारको कुनै अंक नहुने बताए । उनका अनुसार अनुसार स्रोतले भ्याउने बजेट राख्नुपर्छ । ‘अढाइ- तीन खर्बले बजेट घटाउने प्रवृत्ति देखिँदै आएको छ, जुन विनियोजन ऐनको मर्मविपरित हुन जान्छ । उनका अनुसार बढिमा १० प्रतिशत घटाउन सकिन्छ, त्यहाँभन्दा बढी गरियो भने त्यो ठिक होइन । त्यो कानून सम्मत होइन,’ उनले भने ।