मेघौली । सन् १९७३ मा तत्कालीन सरकारले चितवन राष्ट्रिय निकुञ्ज घोषणा गर्दा चितवनको मेघौलीमा टाइगर टप्स जंगल लज रिसोर्ट खुलेको ९ वर्ष भएको थियो । निकुञ्ज घोषणा भएपछि पनि त्यसभित्र रहेको टाइगर टप्स रिसोर्ट बन्द भएन ।
जंगल सफारीको प्रवेशद्वारसमेत मानिने मेघौलीको पर्याय बनेर रहेको टाइगर टप्स निकुञ्ज घोषणापछि पनि ४८ वर्षसम्म निर्बाध रूपमा चल्यो । तर, निकुञ्जभित्रको जग्गा भाडामा लिएर सञ्चालित उक्त रिसोर्ट १३ वर्षअघि बन्द भयो । त्यसपछि ओझेलमा परेको मेघौली अहिले पुनः ब्यूँतने प्रयासमा छ ।
अहिले मेघौलीलाई हाई इन्ड पर्यटक (बढी खर्च गर्ने पर्यटक)को रोजाइको गन्तव्य बनाउने उद्देश्यले अतिथि सत्कार सेवामा दशकौंदेखि संलग्न समूह त्यहाँ लगानी गर्न अग्रसर देखिएका छन् । दशकौंसम्म टाइगर टप्स सञ्चालनमा रहँदा त्यस आसपास नयाँ ठूला रिसोर्ट खुलेनन् । बरु चर्चित पर्यटकीय गन्तव्य चितवनकै सौराहामा लगानीकर्ताको आकर्षण बढी देखियो । फलस्वरूप अहिले सौराहामा सानाठूला गरेर २०० हाराहारी होटेल, रेस्टुराँ तथा लज छन् ।
सन् २०११ देखि भने लगानीकर्ताले निकुञ्जबाट केही परको मेघौलीमा निजी जग्गा किनेर रिसोर्ट खोल्ने क्रम बढाए । टाइगर टप्सले आर्जन गरेको मेघौलीको प्रतिष्ठा फर्काउन अहिले लगानीकर्ता प्रयासरत देखिएका छन् । सन् १९६४ मा खुलेको टाइगर टप्स सन् २०१२ मा बन्द भएको थियो । उक्त रिसोर्टको संरचना अहिले जीर्ण अवस्थामा छन् ।
यसैबीच मेघौलीलाई पुनः ब्यूँताउन अहिले मोफसलमा पकड बनाएका अतिथि सत्कार सेवाका समूह र व्यावसायिक घरानाले त्यहाँ लगानी गर्न थालिसकेका छन् । सिद्धार्थ समूह, बाराही समूह, ७ दशकदेखि यस क्षेत्रमा संलग्न सांग्रिला होटेल तथा व्यावसायिक घरानाहरू चौधरी समूह र वैद्य समूह लगायतले मेघौलीमा लगानी गरेका छन् ।
हाई इन्ड पर्यटकको गन्तव्य
आन्तरिक अतिथि सत्कार सेवामा बलियो उपस्थिति जनाएको सिद्धार्थ समूह पछिल्लो समय मेघौलीमा रिसोर्ट खोल्ने नयाँ व्यावसायिक समूह बनेको छ । वैशाख १ गतेदेखि सिद्धार्थले सिद्धार्थ वाइल्डलाइफ रिट्रिट नामबाट सेवा दिन थालेको छ । सिद्धार्थले साराङ वाइल्डलाइफ स्याङ्चुअरी किनेर सिद्धार्थ वाइल्डलाइफ रिट्रिट नामबाट सेवा शुरू गरेको हो ।
उक्त समूहका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपानेले शान्त वातावरण, प्रकृतिसँग नजिक, जंगल सफारीमा रुचि राखेर नेपाल आउने पर्यटकलाई लक्ष्य गरेर त्यहाँ लगानी गरेको बताए । ‘सौराहामा अहिले बढी भीडभाड हुन थालेको छ । वाइल्डलाइफ, शान्त वातावरण र जंगल सफारीको अनुभव लिन मेघौली उपयुक्त छ,’ उनले भने, ‘शान्त, जंगली जनावरको बासस्थान र नजिकैबाट निकुञ्जभित्रको मनोरम दृश्य देख्न सकिने भएकाले निकुञ्ज घुम्ने लक्जरी पर्यटकले मेघौली रोज्ने गरेका छन् ।’
एक खालको लक्जरी पर्यटनको गन्तव्य बनिसकेको हुँदा आप्mनो समूहले मेघौलीमा लगानी गर्न चाहेको न्यौपानेले बताए । ‘जंगलमात्रै भएर भएन । खानपान, सुरक्षा र लक्जरी सेवा खोज्ने पर्यटकलाई लक्ष्य गरेर लगानी गरेका हौं,’ उनले भने, ‘लक्जरी सेवा थप्दै लैजाने हो, हाई इन्ड पर्यटकलाई लक्ष्य गरिए पनि प्याकेज तयार गर्दा मध्यम वर्गलाई पनि हुने गरी बनाइनेछ ।’
टाइगर टप्ससँग जोडिने मेघौली अहिले मेघौलीबाटै परिचित गन्तव्य बन्ने दिशामा छ । टाइगर टप्सको जस्तै सेवासुविधा दिने होडमा रिसोर्ट खुलेका छन् । मुलुकको अतिथि सत्कार सेवाको आन्तरिक बजारमा पकड बनाएका सिद्धार्थ र बाराही समूहले मेघौलीलाई लगानी गन्तव्य बनाएका छन् । कतिपय त्यहाँ रिसोर्ट बनाएर सेवा दिने तयारीमा छन् भने कतिपय साविकका संरचनामा लगानी थपेर स्तरीय सेवा दिने ध्याउन्नमा छन् ।
मेघौलीमा सिद्धार्थ समूहले हालै सञ्चालनमा ल्याएको रिसोर्टबाहेक बाराही समूहको बाराही जंगल लज र चौधरी समूहको मेघौली सेराइ (ताज सफारी) रिसोर्ट सञ्चालनमा छन् ।
थप दुईओटा रिसोर्ट निर्माणाधीन अवस्थामा छन् । सांग्रिला होटेल एन्ड रिसोर्ट समूहले बहुराष्ट्रिय अतिथि सत्कार सेवाप्रदायक कम्पनी इन्टरकन्टिनेन्टल होटेल्स् एन्ड रिसोर्ट ग्रूप –आईएचजी)सँग समझदारी गरेर बनाउने चारओटा होटेल तथा रिसोर्टमध्ये एउटा मेघौलीमै बनाउँदै छ । वैद्य समूहले अर्को एउटा रिसोर्ट निर्माण गरिरहेको छ ।
बाराही समूहको लज सन् २०१३ देखि सञ्चालनमा आएको हो । बाराही आउनुपूर्व ठूला खाले रिसोर्ट मेघौलीमा थिएनन् । टाइगर टप्स बन्द भइसकेको थियो ।
निकुञ्जछेउको जमिन भएकाले मानिसहरूले त्यहाँ खेतीपाती गरेका थिएनन् । स्थानीयले बाँझो राखेको जग्गा किनेर सन् २०११ मा बाराही निर्माण शुरू भयो । त्यसले सन् २०१३ मा सेवा दिन शुरू ग¥यो । टाइगर टप्स बन्द हुँदै गर्दा सञ्चालनमा आएको बाराहीले १२ वर्षदेखि मेघौलीमा सेवा दिइरहेको छ ।
बाराहीले २४ बिगाहा क्षेत्रफल ओगटेको छ । त्यसको २० प्रतिशतमा भिल्लाहरू बनाएको छ । ‘८० प्रतिशत जग्गामा रूखबिरूवा रोपेको छ । ‘मृग, बँदेलहरू लजका आँगनमै आउँछन्,’ बाराही जंगल लजका अपरेशन म्यानेजर सुभाष गुरुङ भन्छन् । यसमा ४१ ओटा कोठा छन् । रिसोर्टले १०० जनालाई रोजगारी दिएको छ । ‘९८ प्रतिशत कर्मचारी स्थानीय छन्,’ गुरुङले भने । उक्त रिसोर्टमा करीब ५० करोड रुपैयाँ लगानी भएको छ ।
गुरुङका अनुसार जंगल लज सिजनल व्यवसाय हो । अक्टोबरदेखि डिसेम्बरसम्म प्राइम सिजन मानिन्छ । जनवरीमा कम हुन्छ । जंगल लजमा अन्य होटेलको तुलनामा कम अकुपेन्सी हुन्छ । रिसोर्ट चल्ने भनेको ६/७ महीना मात्रै हो । ‘यसले गर्दा हाम्रो लजको वार्षिक औसत अकुपेन्सी ५० प्रतिशत हुन्छ,’ गुरुङले भने ।
बाराही खुलेको ३ वर्षपछि अर्को रिसोर्ट खुल्यो । व्यावसायिक घराना चौधरी समूहले सन् २०१६ मा मेघौली सेराइ रिसोर्ट सञ्चालनमा ल्यायो । २९ ओटा कोठाबाट आन्तरिक र बाह्य पर्यटकलाई सेवा दिइरहेको रिसोर्टको सिजनमा औसत अकुपेन्सी ६० देखि ७० प्रतिशतसम्म हुने गरेको त्यहाँका एक उच्च कर्मचारीले जानकारी दिए । उनका अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म कम मात्रामा पर्यटक आउँछन् । उक्त रिसोर्टमा धेरै आउने पर्यटकमा अमेरिकन र भारतीय हुन्छन् । बाराहीका भिल्लामा एक रात बस्न ५०० अमेरिकी डलर तिर्नुपर्छ ।
टाइगर टप्सको विरासत
साढे ४ दशक सञ्चालनमा रहेको टाइगर टप्सले हाई इन्ड पर्यटकमात्रै भित्र्याएन, मेघौलीलाई पहिचान पनि दियो । वाइल्डलाइफ सफारीमा नेपालमा मात्रै नभई दक्षिण एशियाकै पहिलो रिसोर्टका रूपमा रहेको टाइगर टप्स चार कोठाबाट शुरू भएको थियो । रिसोर्ट बन्द भए पनि अहिले कुरुवा कर्मचारीले टाइगर टप्सको जीर्ण संरचनाको रेखदेख गरिरहेका छन् । उक्त रिसोर्टका प्रशासकीय प्रबन्धक रामसिंह गुरुङका अनुसार अहिले १२ जना कुरुवा छन् । ‘रिसोर्ट बन्द छ, कुरुवा मात्रै छन् । यो रिसोर्ट खुल्ने आशामा बसेका छौं,’ गुरुङले भने । टाइगर टप्सका लगानीकर्ताले पनि शुरूमा हालको प्रसिद्ध पर्यटकीय गन्तव्य सौराहामै क्याम्प खोलेर सेवा दिएको उनी बताउँछन् ।
मेघौलीकै स्थानीयसमेत रहेका गुरूङले भने, ‘टाइगर टप्सले मेघौली आउनुभन्दा पहिला सौराहामै अस्थायी क्याम्प खोलेको थियो, शुरूमा चिसो बियर कोलकाता, सिंगापुरबाट ल्याएर विक्री हुन्थ्यो ।’ टाइगर टप्स चार कोठाबाट विस्तार भई २८ ओटा कोठा पुगेको थियो । सन् १९६४ मा शुरू भएर २०१२ (२०७९ असार मसान्त)मा बन्द भएको टाइगर टप्स शुरूमा २० वर्षका लागि लिजमा सञ्चालनमा थियो । २०६६ सालमा सरकारले ३ वर्षका लागि म्याद थपिदिएको थियो । त्यसयता सरकारले लिजको नवीकरण म्याद थप नगर्दा रिसोर्ट बन्द छ ।
४० वर्षदेखि टाइगर टप्ससँग जोडिएका गुरुङ त्यो बेलाको चहलपहल नै फरक भएको बताउँछन् । ‘यो रिसोर्टमा बस्न पर्यटकले वर्ष दिनअघिदेखि नै बुकिङका लागि कुर्थे,’ उनी सम्झन्छन्, ‘यहाँ आउने हाई इन्ड पर्यटक र वन्यजन्तु तथा जंगल सफारीका पारखीहरू बढी हुन्थे । सन् १९६१ मा बनेको मेघौली विमानस्थल व्यावसायिक रूपमा चल्नुको प्रमुख कारण पनि यही रिसोर्ट थियो ।’
अहिले मेघौली विमानस्थल गौचरणमा परिणत भएको छ । विमानस्थलमा तारबार लगाएको भए पनि बाख्रापाठा चरिरहेका देखिन्छन् । कहिलेकहीँ नेपाली सेनाले प्यारासुट जम्पको अभ्यास यही विमानस्थलमा गर्ने गरेको स्थानीय बताउँछन् । ‘मेघौली अन्य क्षेत्रका हिसाबले अझै पनि भर्जिन नै हो । वाइल्डलाइफमा विविधीकरण र सांस्कृतिक परम्पराले पनि यो पर्यटकका लागि राम्रो गन्तव्य हो,’ गुरुङ भन्छन्, ‘सौराहा जस्तो नहोस् भन्ने हाम्रो चाहना हो । शान्त, प्रकृति, जंगलको सौन्दर्य यहाँ कायम हुनुपर्छ ।’
स्थानीय संस्कृति प्राथमिकतामा
कुमाल र थारू समुदायको बाक्लो उपस्थिति रहेको मेघौलीमा खुलेका रिसोर्टले त्यहाँको संस्कृति, परम्पराअनुसारका परिकारदेखि स्थानीयको परम्परागत नृत्यलाई पनि बजारीकरण गरिरहेका छन् । हरेक रिसोर्टले कुमाल र थारू समुदायको नृत्यलाई साँझको समयमा पस्कन्छन् । रिसोर्ट पुग्नेले यी समुदायको सांस्कृतिक नृत्यसँग रमाएर थकाइ बिर्साउन पाउँछन् ।
स्थानीयलाई एक साँझ नृत्य गर्दा रिसोर्टले ४ हजार रुपैयाँ दिने गरेका छन् । उनीहरूको रहनसहन देखाउन भिलेज टुर गराउँछन् । स्थानीय संस्कृतिको प्रवर्द्धनका लागि रिसोर्टले बेलुका थारू नाच गराउँछन् । निकुञ्जको सीमा राप्ती नदीको किनारामा यी रिसोर्ट छन् । उत्तर–पश्चिममा नारायणी र दक्षिण–पश्चिममा राप्ती नदी बग्छ । त्यसको बीच भागमा मेघौली छ ।