काठमाडौँ । सन् २०२५ को अप्रिलमा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिलमा नै १ लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिलको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ ।
अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट ९ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट ६ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् ।
बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ । कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिलमा सबैभन्दा धेरै १ लाख ९ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए ।
सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए । “हामीले आधिकारिक रुपमा १०६ दशमलव ५ प्रतिशत पूर्व–महामारी स्तरमा पुगेका छौँ, यसले बलियो ‘रिकभरी’ र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाउँछ”, बोर्डले उल्लेख गरेको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिलको पर्यटक आगमन उत्साहवर्द्धक रहेको बताए । “यो वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सभ्यताको प्रमाण हो”, उनले भने ।
बोर्डको विवरणमा वर्षको ४ महिना (जनवरी–अप्रिल) को अवधिमा ४ लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा १ लाख २१ हजार ८ सय विदेशी पर्यटक नेपाल आएका थिए ।