काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा युरो–६ मापदण्ड लागू गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार (आज) सार्वजनिक गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रम उक्त कुरा उल्लेख गरिएको छ ।
के हो युरो ६ मापदण्ड ?
सवारी साधनबाट निस्कने हानिकारक प्रदूषक घटाउने उद्देश्यले युरोपेली युनियनले यो मापदण्ड बनाएको हो ।
सन् २०१५ मा कार्यान्वयन गरिएको यो मापदण्डले डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनबाट निस्कने नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड, हाइड्रोकार्बन र कण पदार्थ जस्ता प्रदूषकहरूको निकास सीमाहरू निर्धारण गर्छ । यो मापदण्डअनुसार पेट्रोल र डिजेलबाट चल्ने सवारीका लागि छुट्टाछुट्टै सीमा निर्धारण गरिएको छ ।
सन् २०१५ को सेप्टेम्बरयता विक्रीमा आएका सबै नयाँ गाडीहरूले युरो ६ मापदण्डको पालना गर्नैपर्ने नियम छ।