शाङ्हाई (चीन) । चीनले अमेरिका–चीन व्यापार युद्धका असर कम गर्न अमेरिकी उत्पादनमा लाग्ने १२५ प्रतिशत भन्सार शुल्कबाट छूट दिने वस्तुको सूची तयार पारेको छ । स्रोतहरूका अनुसार चीनले गोप्य रूपमा केही कम्पनीलाई उक्त सूचीको जानकारी गराउन थालेको छ ।
यसअघि चीनले केही औषधि, माइक्रोचिप्स, विमान इन्जिनजस्ता वस्तुमा भन्सार छूट दिएको थियो । तर, हाल सूचीकरण गरिएको ‘ह्वाइटलिस्ट’बारे पहिलोपटक जानकारी बाहिरिएको हो । रोयटर्सले शुक्रवार प्रकाशित रिपोर्टका अनुसार चीनले आवश्यक वस्तुहरू छूट सूचीमा पार्न कम्पनीहरूसँग सुझाव मागिरहेको छ । चीनले सार्वजनिक रूपमा अमेरिकाविरुद्ध कडा नीति लिएको देखाए पनि व्यावहारिक रूपमा भने केही वस्तुमा भित्रभित्रै छूट दिइरहेको देखिएको छ । यसरी घोषणा नगरी छूट दिइँदा चीनलाई आफ्नो कडा रूप आफ्ना नागरिकसामु कायम राख्दै व्यावसायिक लचिलोपन अपनाउन मद्दत मिल्ने विश्लेषण गरिएको छ ।
उक्त सूचीमा कति र कुन कुन वस्तु समावेश छन् भन्ने अझै स्पष्ट भइसकेको छैन । तर केही कम्पनीलाई स्थानीय अधिकारीहरूले प्रत्यक्ष सम्पर्क गरेर उनीहरूको उत्पादन छूट सूचीमा परेको जानकारी गराइएको छ ।
एक अमेरिकी औषधि कम्पनीमा कार्यरत स्रोतको भनाइ छ, ‘हामी अझै पनि अमेरिकाबाट ल्याइने प्रविधिमा निर्भर छौँ । सोमवार शाङहाईको पुतोङ सरकारबाट हामीलाई छूट सूचीबारे जानकारी दिइएको छ ।’ केही कम्पनीलाई आफ्ना वस्तु छूटको सूची भए/नभएकोबारे सरकारसँग सोध्न गोप्य रूपमा आग्रह गरिएको छ ।
यसैबीच, चीनले अमेरिकी इथेन आयातमा लगाएको भन्सार शुल्क पनि हटाएको छ । अमेरिकामै मात्र उपलब्ध इथेनका कारण चीनमा रहेका प्रमुख प्रशोधन उद्योगहरूले यसअघि नै छूटको माग गर्दै आएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार चीनसँगको व्यापार सम्झौता नजिकिएको बताएका छन् । ‘त्यो सम्झौता सौहार्दपूर्ण हुनेछ,’ उनले भने । चीनको वाणिज्य तथा भन्सार मन्त्रालयले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
चीनले व्यापार युद्धको असर मूल्यांकन गर्न विभिन्न कम्पनीहरूसँग परामर्श पनि थालेको छ । पूर्वी चीनको एक शहरमा भएको गोप्य छलफलमा अधिकारीहरूले विदेशी व्यापार समूहलाई भन्सार तनावका कारण उत्पन्न गम्भीर असरहरूको प्रतिवेदन तयार पार्न आग्रह गरेका थिए । त्यसैगरी फुचियान प्रान्तको सियामेन शहरका सरकारी अधिकारीहरूले पनि आइतवार सर्भे पत्रमार्फत अमेरिकी भन्सार नीतिको असरबारे जानकारी मागेका थिए । रोयटर्स