काठमाडौं । इजरायल र इरानले मंगलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम स्वीकार गरेको समाचार अन्तरराष्ट्रिय समाचार एजेन्सी एपीले दिएको छ । युद्धविरामपछि अरब प्रायद्वीपलाई तनावग्रस्त पारेको दुवै देशबीचको १२ दिन लामो युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ । इरानले कतारस्थित अमेरिकी सैनिक अड्डामा मिसाइल आक्रमण गरेपछि युद्धविराममा दुवैले सहमति जनाएको अन्तरराष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।
इरान-इजरायल दुवैले युद्धविराममा सहमति जनाएपछि इरानले मंगलवार विहान इजरायललाई लक्षित गरेर मिसाइल प्रहार गरेको थियो‚ हमलामा कम्तीमा ४ जनाको मृत्यु भएको बताइएको छ । त्यसको प्रतिकार गर्दै इजरायलले पनि विहान घाम लाग्नुअघि नै इरानका विभिन्न स्थानहरूमा हवाई आक्रमण गरेको थियो ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले ट्रम्पसँग समन्वय गर्दै इजरायलले इरानसँग दुईपक्षीय युद्धविराममा सहमति जनाएको बताए । उनले भने, "इजरायलले इरानविरुद्ध १२ दिन लामो सैन्य कारबाहीमा आफ्नो लक्ष्य पूरा गरिसकेको छ ।" इरानको आणविक तथा ब्यालेस्टिक मिसाइल कार्यक्रम रोक्नु, इरानी सैन्य नेतृत्व तथा सामरिक अखडाहरू ध्वस्त पार्नु र तेहरानको आकाशमा नियन्त्रण कायम गर्नु इजारयली सैन्य कारबाहीको लक्ष्य रहेको उनको भनाइ छ ।
युद्धविरामको कुनै पनि उल्लङ्घन इरानले गरे इजरायलले कडा प्रतिक्रिया जनाउने चेतावनी इजरायली प्रधानमन्त्री नेतन्याहूले दिए ।