काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा राखिएको ‘टेक एन्ड पे’को प्रावधानले नराम्रो गर्ला कि जस्तो भएपछि हटाउनुपरेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आज (मंगलवार)को बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।
त्यसअघि सांसद्ले ‘टेक एन्ड पे’ हटाउनुपर्ने भएपछि किन ल्याएको भन्ने प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘टेक एन्ड पे राम्रो गर्नका लागि ल्याइएको थियो । नराम्रो गर्ला कि जस्तो भयो, हटाइयो ।’
त्यसअघि सोमवार प्रधानमन्त्री ओली र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बजेटमा समावेश भएको उक्त प्रावधान हटाउने विषयमा सहमति भएको थियो ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत रन अफ रिभर जलविद्युत् आयोजनाको टेक एण्ड पे मोडलमा विद्युत खरीद सम्झौता पीपीए गर्ने प्रावधान लागू गरेको थियो ।
उक्त प्रावधानको ऊर्जा उद्यमीहरूले विरोध गर्दै आइरहेका थिए । उक्त प्रावधान खारेज गर्नुपर्ने मागसहित ऊर्जा उद्यमीहरूले यही असार ६ गतेदेखि आन्दोलन गरिरहेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले उक्त प्रावधान संशोधन भएकाले आन्दोलनबारे छलफल गरी निर्णय गरिने बताएका छन् ।