काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा विक्री चाप बढिरहेका बेला असारभित्र तीन कम्पनीको गरी २ करोड ४१ लाख ३२ हजार ७६५ कित्ता शेयर धितोपत्र दोस्रो बजारमा कारोबारयोग्य हुने भएको छ । हिमालयन हाइड्रोपावर लिमिटेड, अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड र अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको ३ वर्षदेखि लकइनमा रहेको शेयर असारमा कारोबारयोग्य हुन लागेको हो । कम्पनीहरूले १ महीनाअघि नै लकइन खुला हुने सूचना जारी गरिसकेका छन् ।
बजारमा विक्री चाप बढेर परिसूचक घटिरहेका बेला २ करोड ४१ लाखभन्दा बढी कित्ता शेयर कारोबारयोग्य हुँदा बजारमा असर देखिने ब्रोकर बताउँछन् । पछिल्लो समय असार ७ गते लकइन सकिएको दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर असार ८ गते सर्वाधिक कारोबार भयो । यो कम्पनीको संस्थापकतर्फको ७५ लाख ९० हजार ६७५ कित्ता, कर्मचारीतर्फको ६५ हजार ८६५ कित्ता र आयोजना प्रभावित स्थानीयतर्फको ७ लाख ५६ हजार ४२० कित्ता गरी कुल ८४ लाख १२ हजार ९६० कित्ता शेयरको लकइन असार ७ गते सकिएको हो । दोर्दी खोलाले सर्वसाधारणमा २०७९ साल असार ८ गते शेयर बाँडफाँट गरेको थियो । लकइन खुला भएसँगै आइतवार कम्पनीको ७५ करोड ७३ लाख रुपैयाँभन्दा बढीको २१ लाख ८३ हजारभन्दा बढी कित्ता शेयर किनबेच भयो । जसरी दोर्दी खोलाको शेयरमा विक्री चाप देखियो त्यसरी नै बजारमा आपूर्ति बढ्दा अन्य कम्पनीको शेयरमा असर देखिने ब्रोकर बताउँछन् ।
२०७९ असार २८ गते सर्वसाधारणमा शेयर बाँडफाँट गरेको हिमालयन हाइड्रोपावरको ९० लाख २१ हजार ११५ कित्ता शेयरको लकइन असार २७ गते सकिने कम्पनीले जानकारी दिएको छ । हिमालयन हाइड्रोपावरको कुल कित्ता शेयरमध्ये संस्थापकसँग ८७ लाख, आयोजना प्रभावित स्थानीयसँग २ लाख ८१ हजार ७५० र कर्मचारीसँग ३९ हजार ३६५ कित्ता छ ।
अपर सोलु हाइड्रोको १ करोड १५ लाख ८१ हजार ६५० कित्ता शेयर असार २९ गतेपछि कारोबारयोग्य हुनेछ । अपर सोलुको संस्थापकतर्फको १ करोड १ लाख ९२ हजार ५००, आयोजना प्रभावित स्थानीयतर्फको १३ लाख ५० हजार र कर्मचारीतर्फको ३९ हजार १५० कित्ता शेयर ३ वर्षदेखि लकइनमा छ । अपर सोलुले सर्वसाधारणमा २०७९ असार ३० गते शेयर बाँडफाँट गरेको थियो ।
यी कम्पनीहरूसँगै अपर हेवाखोलाको ३५ लाख ३० हजार कित्ता शेयर आगामी असार ३१ गतेदेखि कारोबारयोग्य हुनेछ । यस कम्पनीको संस्थापकसँगको ३० लाख, आयोजना प्रभावित स्थानीयसँगको ५ लाख कित्ता र कर्मचारीसँगको ३० हजार कित्ता शेयर ३ वर्षदेखि लकइनमा छ । अपर हेवाखोलाले सर्वसाधारणमा २०७९ असार ३२ गते शेयर बाँडफाँट गरेको थियो ।