काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रत्याभूति गर्ने भएको छ ।
आइतवार दुई कम्पनीबीच एफपीओ प्रत्याभूतिसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले हस्ताक्षर गरेका छन् ।
बैंकले जारी गर्न लागेको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ प्रत्याभूति गर्ने गरी सम्झौता भएको हो । यो सम्झौता भएको मितिबाट तीन महीनासम्म अवधि कायम रहने जानकारी कोषले दिएको छ ।
यस बैंकले उक्त एफपीओ निष्कासनका लागि गत माघ २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत ६९ रुपैयाँ थप गरी प्रतिकित्ता १६९ रुपैयाँमा एफपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । यो एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड छ ।