काठमाडौं । जेठ महीनामा मात्र धितोपत्र दोस्रो बजारमा १ खर्ब ६० अर्ब ५४ करोड ३५ लाख रुपैयाँभन्दा बढीको ३६ करोड ३९ लाख ९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।
वैशाखको तुलनामा जेठमा कारोबार रकम साढे ११ प्रतिशतले घटेको देखिन्छ । नेप्सेका अनुसार वैशाखमा १ खर्ब ८० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको ४४ करोड ४० लाख ६८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
जेठमा कुल कारोबारमा सर्वाधिक हिस्सा राधी विद्युत कम्पनीले ओगटेको छ । राधी विद्युत कम्पनीको ११ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।
जलविद्युत कम्पनीहरूको शेयरमा लगानीकर्ताको आकर्षण बढी रहेको नेपालको धितोपत्र बजारमा सर्वाधिक रकमको कारोबार गर्ने १० कम्पनीमध्ये ६ ओटा जलविद्युत कम्पनी छन् । पहिलो नम्बरमा राधी विद्युत रहेकोमा दोस्रोमा ङादी ग्रुप पावर, तेस्रोमा युनिभर्सल पावर, चौथोमा सानिमा माई हाइड्रो र पाँचौं नम्बरमा बुटवल पावर छन् ।
जलविद्युत तर्फको अर्को कम्पनी अरुण काबेली पावर भने नवौं नम्बरमा रहेको छ । यीबाहेक एनआरएन इनफ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट छैटौं नम्बरमा, नेपाल पुनर्बीमा कम्पनी सातौं नम्बरमा, सोल्टी होटल आठौं नम्बरमा र हिमालयन रिइन्स्योरेन्स दशौं नम्बरमा छन् ।
नेपाल पुनर्बीमा क्षेत्रका दुवै कम्पनी सर्वाधिक कारोबार गर्ने १० कम्पनीभित्र परेका छन् । नेपाल पुनर्बीमा कम्पनीको जेठमा ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको र हिमालयन रिइन्स्योरेन्सको ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
पछिल्लो समय सर्वाधिक बढेको होटल तथा पर्यटन क्षेत्र तर्फको सोल्टी होटलको जेठमा ३ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै एनआरएन इनफ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।