काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलो चरणमा जारी गरेको आईपीओ बाँडफाँट गरेको छ ।
कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजीको ४९ प्रतिशत दरले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीय र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरेको हो ।
कम्पनीले जेठ ६ देखि २० गतेसम्म पहिलो चरणको आईपीओ निष्कासन गरी असार ५ गने बाँडफाँट गरेको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा सम्पूर्ण कित्ता शेयर बाँडफाँट भएको जानकारी कम्पनीले दिएको छ ।
अब बाँकी रहेको शेयरमध्ये ७० हजार ९१० कित्ता कर्मचारीहरूका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी २९ लाख ४२ हजार ७६० कित्ता भने सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।