काठमाडौं । आइतवार नेप्से परिसूचक १ दशमलव २५ प्रतिशत अर्थात् ३२ दशमलव ९३ अंक घटेर २ हजार ५९५ दशमलव ९७ विन्दुमा बन्द भएको छ ।
पाँच महिनापछि नेप्से परिसूचक २ हजार ६०० विन्दु तल झरेको हो । यसअघि गत माघ ३ गते नेप्से परिसूचक २ हजार ५८८ दशमलव ६२ विन्दुमा रहेको थियो । त्यसयता नेप्से परिसूचक २ हजार ६०० विन्दु माथि नै रहेको देखिन्छ । आइतवार २ हजार ६३१ दशमलव ८२ विन्दुमा पुगेको नेप्से परिसूचक २ हजार ५९४ दशमलव शून्य १ विन्दुसम्म झरेको थियो ।
२३ कम्पनीको मात्र धितोपत्र मूल्य बढेको आइतवार २२५ कम्पनीको धितोपत्र मूल्य घटेको छ । जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य यस दिन ९ दशमलव ९८ प्रतिशत बढेको छ भने पियोर इनर्जीको १० प्रतिशत घटेको छ । जोशी हाइड्रोपावरको प्रतिकित्ता ३१ रुपैयाँ ६२ पैसाले शेयर मूल्य बढेर अन्तिम मूल्य ३४८ रुपैयाँ ६० पैसा कायम भएको हो । त्यस्तै पियोर इनर्जीको शेयर मूल्य भने प्रतिकित्ता १०८ रुपैयाँ ६२ पैसाले घटेर अन्तिम मूल्य ९७७ रुपैयाँ ९० पैसा कायम भएको छ ।
यो दिन नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ । गत बिहीवार ११ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको २ करोड ९४ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा आइतवार ९ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको २ करोड १५ लाखभन्दा बढी मात्र धितोपत्र कारोबार भएको हो ।
कारोबार रकमसँगै कारोबार कित्तासमेत घटेको छ । यस दिनको कारोबारलाई लिएर बनेको मैनबत्ती विश्लेषणमा रातो मैनबत्ती बनेको छ । यसले आगामी दिनमा पनि बजार घट्न सक्ने सम्भावनालाई बलियो रूपमा संकेत गर्छ ।
यो दिन दोर्दी खोला जलविद्युतको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । दोर्दी खोलाको संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीतर्फको शेयरको लक इन अवधि असार ७ गते सकिएको छ । लक इन अवधि सकिएसँगै आइतवार कम्पनीको ७५ करोड ७३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । कम्पनीको शेयर विक्री चाप बढेको असर शेयर मूल्यमा परेको छ । यस दिन कम्पनीको शेयर मूल्य ३ दशमलव ८३ प्रतिशत घटेर अन्तिम मूल्य ३६० रुपैयाँ ८३ पैसा कायम भएको छ ।
यस दिन सबै समूहको परिसूचक घटेको छ । परिसूचक सर्वाधिक घटेको देख्दा होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक गुमाएको देखिन्छ । होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३ दशमलव १३ प्रतिशत घटेको हो ।
यस दिन म्युचुअल फण्डको परिसूचक सबैभन्दा कम शून्य दशमलव ३७ प्रतिशत घटेको छ । आइतवार लगानीकर्ताले ५४ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी गुमाएका छन् । अघिल्लो कारोबार दिन ४४ खर्ब ७९ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण आइतवार ४३ खर्ब २५ अर्ब २७ करोड रुपैयाँभन्दा बढी कायम भएको हो ।