काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ १६ गते एक दिन बुकक्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा जेठ १५ गते सार्वजनिक विदा परेकाले जेठ १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन्। योग्य शेयरधीहरुले साउन १३ गतेसम्म हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। बिक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, खुर्देत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । मेरो शेयर अनलाईन पनि आवेदन दिनका लागि प्रयोग गर्न सकिनेछ । हाल ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि चुक्तापूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा प्रयाप्त मात्रामा सुरक्षित रहेको संकेत गर्नृ आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।