काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २८ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । असार ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय बुटवलबाट भर्चुअल माध्यमबाट विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । समाज लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ ।
मर्जरपछि कम्पनीको जारी तथा चुक्तापूँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ कायम हुने भएकाले सोही बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ । यी दुई कम्पनी समान अनुपातमा मर्जरमा जान लागेका हुन । मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।