काठमाडौं । स्वीस बैंकहरूमा नेपालीहरूको निक्षेप सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा केही घटेको स्वीस नेशनल बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । स्वीस बैंकहरूमा नेपालीले राखेको रकम घटेको यो लगातार दोस्रो वर्ष हो ।
ग्राहकको सूचना गोप्य राख्ने कानूनी प्रावधानका कारण धनी मानिसहरूले आफ्नो रकम स्वीट्जरल्यान्डका बैंकहरूमा राख्ने गरेका छन् । तर, कर छली गरी लगेको रकम बैंकहरूमा जम्मा गर्न दिएको भनेर स्वीट्जरल्यान्डको नीतिको आलोचना पनि हुने गरेको छ । नेपालमा पञ्चायतकालदेखि नै त्यसबेलाको दरबारले स्वीस बैंकहरूमा पैसा थुपारेको भनेर आलोचना हुने गरेको थियो ।
स्वीस नेशनल बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२२ मा उच्च विन्दुमा पुगेपछि लगातार दोस्रो वर्ष स्वीस बैंकहरूमा नेपालीसँग सम्बद्ध रकम घटेको हो । यद्यपि, यो रकम कोरोना महामारीपूर्वको भन्दा धेरै उच्च रहेको देखिएको छ ।
स्वीट्जरल्यान्डको केन्द्रीय बैंकले प्रकाशित गरेको वार्षिक बैंकिङ तथ्यांक २०२४ अनुसार नेपाली व्यक्ति र संस्थाहरूले स्वीस बैंकहरूमा जम्मा गरेको रकम ३८ करोड ७० लाख स्वीस फ्र्यांक अर्थात् (लगभग ६५ अर्ब ६८ करोड रुपैयाँ) छ । सन् २०२३ मा यस्तो रकम ४५ करोड ३ लाख स्वीस फ्र्यांक (करीब ७६ अर्ब ४२ करोड रुपैयाँ) रहेको थियो ।
किन घट्यो स्वीस बैंकहरूमा नेपालीको रकम ?
स्वीस बैंकहरूमा राखिएको रकम घट्नुको अर्को कारण धनी नेपालीहरूको प्राथमिकता अन्य मुलुकतर्फ सरेको हुन सक्ने विश्लेषकहरूको ठम्याइ छ ।
अब उनीहरू स्वीस बैंकहरूको सट्टा सिंगापुर, आयरल्यान्ड र दुबईजस्ता वित्तीय गोपनीयता सुरक्षित राख्ने र वित्तीय प्रणाली लचिलो भएका क्षेत्रतर्फ आकर्षित हुन थालेको उनीहरूको अनुमान छ ।
अमेरिका, हङकङ, केम्यान आइल्यान्ड आदि पनि वित्तीय गोप्यता धेरै राख्ने मुलुकमा पर्छन् । राष्ट्र बैंकका एक अधिकारी स्वीट्जरल्यान्डभन्दा बढी गोपनीयता दिने ट्याक्स हेभन मुलुकहरूमा नेपाली धनीहरूको पैसा गएको हुन सक्ने बताउँछन् ।
‘स्वीट्जरल्यान्डले त कम्तीमा कुन देशका मानिसको कति धन आफ्नो मुलुकमा आएको छ भनेर वर्षैपिच्छे भन्छ,’ उनले भने । ‘यदि नेपालले शंकास्पद व्यक्तिहरूमाथि अनुसन्धान गरेर स्वीट्जरल्यान्डलाई त्यस्ता व्यक्तिको रकम पनि जम्मा भएको छ कि भनेर सूचना मागेमा स्वीट्जरल्यान्डले दिन सक्छ ।’
स्वीट्जरल्यान्डभन्दा धन लुकाउन सजिलो मुलुकहरू अरू पनि भएकाले अहिले गैरकानूनी ढंगले कमाएको रकम अन्य मुलुकमा गएको हुन सक्ने राष्ट्र बैंकका ती अधिकारीले बताए ।
तर, स्वीस बैंकहरूमा जम्मा भएको रकम गैरकानूनी ढंगले नेपालबाट गएको भन्न नसकिने नेपाल राष्ट्र बैंकबाट हालै अवकाश पाएका र हाल राष्ट्रिय योजना आयोगका सदस्य रहेका प्रकाशकुमार श्रेष्ठको तर्क छ । ‘विदेशमा रहेका नेपालीले जम्मा गरेका पनि हुन सक्छन्,’ उनले भने ।
चुनावी वर्षमा बढी जम्मा
केही वर्षको इतिहास हेर्दा जुन जुन सालमा नेपालमा चुनाव भएको थियो त्यही साल धेरै रकम स्वीस बैंकहरूमा जम्मा भएको देखिन्छ । नेपालमा सन् २०२२ मा स्थानीय, प्रदेश र संघीय चुनाव भए । सोही वर्ष स्वीस बैंकहरुमा यस्तो निक्षेप कीर्तिमानी ४८ करोड २५ लाख स्वीस फ्र्यांक (८१ अर्ब ९२ करोड) पुगेको थियो ।
त्यसअघि सन् २०१७ मा पनि नेपालमा चुनाव भएको थियो । त्यसबेला पनि त्यसअघिको भन्दा बढी निक्षेप स्वीस बैंकहरूमा जम्मा भएको थियो । उक्त वर्ष ३२ करोड २८ लाख स्वीस फ्र्यांक (५४ अर्ब ७९ करोड रुपैयाँ) रकम त्यहाँ जम्मा भएको स्वीस नेशनल बैंकले जनाएको छ । त्यसपछिका २ वर्ष त्यहाँ जम्मा भएको नेपालीको रकम घट्यो ।
सन् २०२० मा फेरि बढेर ३६ करोड ८ लाख स्वीस फ्र्यांक पुग्यो । त्यसपछि सन् २०२१ मा घट्यो । चुनावी वर्षमा बढ्नुको कारण राजनीतिक दल तथा नेताले विभिन्न स्वार्थ समूहबाट उठाएको पैसा विदेशमा मिलाएर त्यहाँ जम्मा गरेको पनि हुन सक्ने राष्ट्र बैंकका ती अधिकारीले बताए । ‘अहिले विदेशमा आफ्ना आफन्त नभएको मान्छे पाउन गाह्रो छैन त्यसैले हिसाबकिताब विदेशमै मिलाउन सजिलो हुन्छ,’ उनले भने ।
नेपालीको रकम बढी
स्वीस नेशनल बैंकको तथ्यांकअनुसार त्यहाँको बैंकहरूमा जम्मा भएको रकमका आधारमा नेपाल भारत र बंगलादेशपछि दक्षिण एशियाली मुलुकमा तेस्रो स्थानमा छ । स्वीस बैंकहरूमा भारतीयहरूको साढे ३ अर्ब र बंगलादेशीहरूको ५८ करोड ९५ लाख स्वीस फ्र्यांक छ ।
बंगलादेशीहरूको स्वीस बैंकहरूमा जम्मा भएको रकम सन् २०२२ र २३ मा भने योभन्दा कम थियो । तर सन् २०२४ मा त्यहाँ भएको आन्दोलनका कारण पछिल्लो समय बंगलादेशीहरूको स्वीस बैंकमा भएको रकम बढेको जानकारहरूको भनाइ छ ।
सन् २०२४ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स र भुटानका नागरिक वा संस्थाका नाममा रहेको रकम क्रमशः ३० करोड ७१ लाख, २७ करोड १६ लाख, ३१ लाख ४० हजार, २५ लाख १० हजार र ७ लाख २० हजार स्वीस फ्र्यांक छ ।