काठमाडौं । मध्यपूर्वका दुई मुलुक इरान–इजरायलबीच चर्किएको युद्धका कारण विश्व बजारमा तेलको मूल्य वृद्धि हुन थालेसँगै नेपाली अर्थतन्त्रलाई समेत युद्धले असर गर्ने देखिएको छ । अमेरिकाले इजरायलको ईच्छा अनुसार ईरानको आणविक भट्टीमा आक्रमण गरेपछि स्थित थप अस्थीर हुने सम्भावना वढेको छ ।
- महँगी वृद्धिदर दोहोरो अंकमा पुग्न सक्ने
- विप्रेषण आप्रवाहमा कमी आउन सक्ने
- वैदेशिक रोजगारी प्रभावित हुन सक्ने
युद्धका कारण नेपालमा आपूर्ति शृंखला, तेलको मूल्य वृद्धि, मुद्रास्फीति, वैदेशिक रोजगारी र विप्रेषणलगायत क्षेत्रमा असर गर्नसक्ने विज्ञ बताउँछन् । दुई देशबीचको द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउ वृद्धि भइसकेको छ ।
विश्वको कुल तेल भण्डारको १० प्रतिशत अंश ओगट्ने मुलुक आफै युद्धमा फसेका कारण मंगलवारदेखि विश्वव्यापी रूपमा नै तेलको मूल्यमा तीव्र वृद्धि देखिएको हो । कच्चा तेलको मूल्य आइतवार बढेर प्रतिब्यारेल ७८ दशमलव ८५ डलर पुगिसकेको छ । युद्ध जारी रहे यो १२० डलर प्रतिब्यारेलसम्म पुग्न सक्ने अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीले उल्लेख गरेको छ ।
एजेन्सीका अनुसार युद्ध बढ्दै गए विश्वव्यापी ऊर्जा पूर्वाधारमा गम्भीर परिणाम निम्त्याउन सक्ने प्रमुख ऊर्जा कम्पनीहरूले चेतावनी दिएका छन् ।
तेलमा पनि खासगरी डिजेलको मूल्य बढेमा नेपालको मुद्रास्फीति दोहोरो अंकमा पुग्न सक्ने र त्यसले समग्र अर्थतन्त्रलाई असर गर्ने अर्थविद् ज्ञानेन्द्र अधिकारीले बताए । अधिकारीका अनुसार युद्ध कति लामो समय चल्छ भन्ने कुराका आधारमा त्यसको असर आकलन गर्न सकिन्छ । अवस्था हेर्दा युद्ध केही समय लम्बिने देखिएकाले खासगरी तेलको मूल्यवृद्धिले आपूर्ति शृंखला, वैदेशिक रोजगारी, मुद्रास्फीतिजस्ता पक्षमा नेपाललाई समेत गम्भीर असर पर्न सक्ने उनले बताए ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार २०८२ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ७७ प्रतिशत छ । यो विगत ६२ महीनाकै सबैभन्दा न्यून मूल्यवृद्धि हो । अघिल्लो वर्षको सोही महीनामा उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४० प्रतिशत रहेको थियो । इरान र इजरायलबीचको युद्ध चर्किएर लामो समय तेलको मूल्य वृद्धि हुने हो भने मुद्रास्फीति दोहोरो अंकमा पुग्न सक्ने खतरा रहेको अर्थविद् अधिकारी बताउँछन् । ‘मुख्य गरी डिजेलको मूल्य वृद्धिले ढुवानी महँगो पर्छ । ढुवानी महँगो हुनेबित्तिकै दैनिक उपभोग्य खाद्यान्नदेखि धेरै वस्तुको मूल्य बढ्छ । तेलको मूल्य अहिले नै बढिसकेको छ,’ उनले भने ।
राष्ट्र बैंकको प्रतिवेदनअुसार वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १ दशमलव ५२ र गैरखाद्य तथा सेवासमूहको मुद्रास्फीति ३ दशमलव ४५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ६ दशमलव ४१ प्रतिशत र ३ दशमलव शून्य ९ प्रतिशत रहेको थियो । नेपालले आफ्नो इन्धन आवश्यकताको लगभग शतप्रतिशत अंश भारतमार्फत आयात गर्छ । अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यवृद्धि हुँदा वा मध्यपूर्वमा आपूर्ति शृंखलामा अवरोध आउँदा भारतमा तेलको मूल्य बढ्छ, जसको प्रत्यक्ष असर नेपालमा पर्छ ।
व्यापारविज्ञ रविशंकर सैंजूले इन्धनको मूल्यवृद्धिले ट्रक, बस, र अन्य यातायातको भाडा बढाउने भएकाले खाद्यान्न, निर्माण सामग्री, र अन्य वस्तुको बजार मूल्य बढ्ने बताए । उनका अनुसार ढुवानी खर्च बढ्दा त्यसले आपूर्ति शृंखलामा असर गरी दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्न सक्ने खतरा देखिएको छ । यसले विशेष गरी निम्न र मध्यम आय भएका परिवारलाई असर पार्न सक्ने उनले बताए ।
दुई देशबीचको युद्धले नेपालको वैदेशिक रोजगारी र विप्रेषणमा उल्लेखनीय असर पार्न सक्ने विज्ञहरूले बताएका छन् । अधिकांश नेपाली विदेशमा कार्यरत रहेका र नेपालको अर्थतन्त्र पनि विप्रेषणमा धेरै निर्भर रहेकाले दुई देशबीचको युद्धले त्यसलाई असर पार्न सक्ने अर्थविद् अधिकारी बताउँछन् ।
उनका अनुसार युद्धका कारण यी दुवै देशसहित मध्यपूर्वका अन्य देशहरू– साउदी अरब, कतार र यूएईमा क्षेत्रीय अस्थिरता निम्तिन सक्छ, जहाँ ठूलो संख्यामा नेपाली कामदार कार्यरत छन् ।
ती देशमा कार्यरत नेपालीको काम प्रभावित भई विप्रेषण पठाउन नसकेको खण्डमा त्यसले नेपालको अर्थतन्त्रलाई असर गर्ने र स्वदेशमा बेरोजगारी निम्तिन सक्ने उनको भनाइ छ । सन् २०२३/२४ मा नेपालले करीब १४ खर्ब रुपैयाँ विप्रेषण प्राप्त गरेको थियो ।