काठमाडौं । भारत-बंगलादेशबीच पछिल्लो समय उत्पन्न तिक्तताका कारण माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट उत्पादन हुने विद्युत् बंगलादेश निर्यात अनिश्चित भएको छ ।
९०० मेगावाट क्षमताको अपर कर्णालीबाट ५०० मेगावाट विद्युत् बंगलादेशले अब आयात नगर्ने भएको बंगलादेशको दैनिक डेली अब्जर्भरले जनाएको छ ।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार त्यहाँको अन्तरीम सरकारले विशेष अधिकार ऐनअन्तर्गत पूर्ववर्ती सरकारले गरेका सबै सम्झौता निलम्बन गर्ने निर्णय गरेपछि नेपालबाट बिजुली आयातसम्बन्धी सम्झौता अन्योलमा परेको हो ।
बंगलादेशका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले अन्तरिम सरकार पूर्ववर्ती अवामी लिग नेतृत्त्वको सरकारले गरेका सम्झौताहरू रद्द गर्ने मनस्थितिमा रहेकाले अपर कर्णालीबाट उत्पादित बिजुली आयात गर्न चासो नदेखाएको उल्लेख गरेका छन् ।
यसबीच‚ लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले यसबारेमा जीएमआर एनर्जी र बंगलादेश दुवै पक्षबाट हालसम्म कुनै जानकारी नआएको बताए । ‘जीएमआरले बंगलादेशमा विद्युत् बजार सुनिश्चित गर्न खोजेको थियो । त्यहाँ नभए भारत र नेपालमा बिजुली बेच्ने विकल्प माथिल्लो कर्णाली परियोजनासँग रहेको छ,’ उनले भने ।
भारतीय ११७ किलोमिटर लामो ७६५ केभी क्षमताको प्रसारण लाइनबाट बंगलादेशले बिजुली आयात गर्ने भएकाले यसबारे भारतले सुरक्षा चासो देखाएको थियो । भारतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना वाजेदलाई शरण दिएकाले दुवै देशबीच उत्पन्न तिक्तताका कारण पनि वर्तमान बंगलादेशी सरकार भारतीय प्रसारण लाइनबाट बिजुली आयात गर्न इच्छुक नभएको अनुमान गरिएको छ ।
सन् २०२४ मा बंगलादेशले भारतको एक कम्पनीसँग नेपालबाट ५०० मेगावाट विद्युत् आयात गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको थियो। भारतीय ऊर्जा कम्पनी जीएमआर एनर्जीले ९०० मेगावाटको अपर कर्णाली जलविद्युत् परियोजना शुरु गरिसकेको छ ।
बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले नेपाल र बंगलादेशबीच पर्ने भारतीय प्रसारण लाइन प्रयोग गरी उक्त परियोजनाबाट उत्पादित विद्युत् खरीद गर्न एमओयू गरेको थियो।