वाशिङ्टन (संयुक्त राज्य अमेरिका) । जुन महीनामा अमेरिकी उपभोक्ताको आर्थिक मनोबल अघिल्लो महीनाको तुलनामा केही सुध्रिएको देखिए पनि उनीहरू अझै पनि अर्थतन्त्रको अवस्थाबारे चिन्तित देखिएको एक सर्वेक्षणले देखाएको छ ।
मिशिगन विश्वविद्यालयले शुक्रवार सार्वजनिक गरेको ‘कन्जुमर सेन्टिमेन्ट इन्डेक्स’अनुसार जुन महीनामा ‘कन्जुमर सेन्टिमेन्ट’ १६ प्रतिशतले बढेर ६० दशमलव ५ मा पुगेको छ, जुन मे महीनामा ५२ दशमलव २ मात्र थियो । तर यो स्तर सन् २०२४ को डिसेम्बरको तुलनामा अझै २० प्रतिशतले तल छ । यसको अर्थ व्यापार अवस्था, व्यक्तिगत वित्त, रोजगारी बजार र शेयर बजारबारे अमेरिकी जनतामा असन्तोष कायमै छ ।
डोनाल्ड ट्रम्प पुनः अमेरिकाको राष्ट्रपति बनेपछि गत अप्रिलमा अधिकांश व्यापारिक साझेदारहरूमा १० प्रतिशतको आयात शुल्क लगाइएको थियो । आगामी जुलाईदेखि अरू दर्जनौं देशहरूमाथि अझ कडा महसुल लगाउने तयारी छ ।
ट्रम्प प्रशासनले स्टिल, एल्युमिनियम र गाडी आयातमा पनि उच्च महसुल लगाएको छ, जसकारण वित्तीय बजारहरू अस्तव्यस्त बनेका छन्, आपूर्ति शृंखलामा समस्या आएको छ र उपभोक्ताको मनोबल खस्किएको छ ।
तर हालसम्म यसको प्रत्यक्ष प्रभाव मुद्रास्फीतिमा देखिएको छैन । व्यापारहरूले पुरानै स्टक प्रयोग गरिरहेका छन् भने केही महसुलमा ट्रम्पले आंशिक लचकता देखाएका छन् । मिशिगन विश्वविद्यालयको उपभोक्ता सर्वेक्षण निर्देशक जोएन सुले भनिन्, ‘अप्रिलमा घोषणा गरिएका उच्च महसुल र त्यसपछि देखिएको नीतिगत अस्थिरताको झड्काबाट उपभोक्ताहरू केही सम्हालिएका छन् ।’ तर उनका अनुसार उपभोक्ताहरू अझै पनि अर्थतन्त्रमा व्यापक जोखिम देखिरहेका छन् ।
‘हालको सुधार उल्लेखनीय भए पनि उपभोक्ताहरू अझै सतर्क छन् र अर्थतन्त्रको स्थितिप्रति चिन्तित छन्,’ उनले भनिन् । तीन महीनामा सबैभन्दा कम दीर्घकालीन मुद्रास्फीतिको अपेक्षा देखिएको भए पनि सन् २०२४ को दोस्रो अर्धवार्षिक अवधिको तुलनामा अझै उच्च छ । सुका अनुसार अमेरिकी नयाँ व्यापार नीतिका कारण आगामी वर्षमा मूल्यवृद्धि हुन सक्छ ।
‘धेरैजसो अमेरिकीहरू आफू आगामी वर्षमा आर्थिक हिसाबले झनै कमजोर हुने विश्वासमा छन्, जुन चिन्ताजनक हो,’ नेभी फेडरल क्रेडिट युनियनकी प्रमुख अर्थशास्त्री हेदर लङले भनिन्, ‘अनिश्चितता र असहजता अझै उच्च छ, अब त इजरायलले इरानमाथि आक्रमण गरेपछि भू–राजनीतिक तनाव पनि थपिएको छ ।’ एपी/रासस