काठमाडौं । फ्रान्सले भोलि (आइतवार)देखि समुद्री किनार, पार्क, सार्वजनिक उद्यान र बस बिसौनीजस्ता सार्वजनिक स्थलहरूमा धुम्रपान गर्न पूर्णतया प्रतिबन्ध लगाएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । आज (शनिवार) सरकारी गजेटमा फ्रान्स सरकारले प्रकाशित गरेको नयाँ आदेशअनुसार यो प्रतिबन्ध पुस्तकालय, पौडी पोखरी र विद्यालय वरिपरिको क्षेत्रमा पनि लागू हुनेछ ।
फ्रान्सेली स्वास्थ्यमन्त्री क्याथरिन भोत्रिनले यसअघि गत मेमा बालबालिकालाई सक्रिय र निष्क्रिय दुवै धुम्रपानबाट बचाउने निर्णय गर्नुपर्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, “बालबालिका भएका ठाउँमा सुर्ती हुनुहुँदैन । बालबालिकालाई शुद्ध हावा सास फेर्ने अधिकार छ ।”
धुम्रपानसम्बन्धी फ्रान्सको नयाँ नियम इलेक्ट्रोनिक चुरोट (ई–सिगरेट) मा लागू हुने नहुने सरकारले प्रष्ट पारेको छैन तर क्याफेहरूको बाहिर बरण्डामा भने धुम्रपान गर्न छूट दिइएको एएफपीले उल्लेख गरेको छ । प्रतिबन्ध नमान्नेलाई १३५ युरो (करिब १५८ अमेरिकी डलर) जरिवाना गराइने बताइएको छ ।
वर्षेनि करीब ७५ हजार फ्रान्सेलीहरूको मृत्यु धुम्रपानसम्बन्धी रोगका कारण हुने अनुमान गरिएको छ । हालै गरिएको सर्वेक्षणअनुसार ६२ प्रतिशत फ्रान्सेलीहरू सार्वजनिक स्थानमा धुम्रपानमाथि प्रतिबन्ध लगाउनुपर्ने पक्षमा देखिएको एएफपीले जनाएको छ ।