काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी–२०२५ बाट सम्मानित भएको छ ।
न्यू बिजनेश एज लिमिटेडको आयोजनामा काठमाडौंमा भइरहेको नवौं संस्करणको ‘न्युबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’मा उक्त कम्पनीले सो अवार्ड हासिल गरेको हो ।
यो कम्पनी जीवन बीमाको क्षेत्रमा आफूलाई स्थापित गर्न सफल कम्पनी हो । कम्पनीको अध्यक्षमा प्रेमा राज्यलक्ष्मी सिंह रहेकी छन् । यो कम्पनी सञ्चालक समितिमा महिलाको राम्रो उपस्थिति कायम गर्ने केही कम्पनीहरूमध्ये यो पनि पर्छ ।
यस कम्पनीको सञ्चालक समितिमा महिलाको उपस्थिति ४२.४६ प्रतिशत अर्थात् सात जनाको सञ्चालक समितिमा तीन जना महिला छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा भने सुरेश प्रसाद खत्री छन् ।
कम्पनीको वित्तीय अवस्था राम्रो देखिन्छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी ४० करोड ८५ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ ।
यस अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन रकम भने १४ अर्ब ७ करोड रुपैयाँभन्दा बढी छ । शेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको महाविपत्ति कोषमा ६१ करोड ६ लाख रुपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति ९८ अर्ब १६ करोड रुपैयाँभन्दा बढी छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ४७ पैसा छ ।
हालै सम्पन्न कम्पनीको साधारण सभावाट यस वर्ष लगानीकर्ताका लागि ५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले छुट्टै शून्य दशमलव ७९ प्रतिशत नगद लाभांशसमेत कम्पनीले वितरण गर्ने भएको हो । ५ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ४७ करोड २७ लाख ४० हजार रुपैयाँ कायम भएको छ ।
लाभांश वितरणको इतिहासलाई हेर्दा कम्पनीले अधिकतम ७२ दशमलव ५० प्रतिशतसम्म वितरण गरेको देखिन्छ । आर्थिक वर्ष ०६९/७० को मुनाफाबाट कम्पनीले ५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १७ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको तथ्याङ्क रहेको छ । लाभांश वितरणलाई कम्पनीले निरन्तरता दिँदै आएको छ ।