काठमाडौं । यस वर्षको ‘स्पेशल रिकग्निशन फर पब्लिक इन्टरप्राइज २०२५’ अवार्ड साल्ट ट्रेडिङ कर्पोरेशनलाई प्रदान गरिएको छ । आज काठमाडौंमा न्यू बिजनेस एजले आयोजना गरेको नवौं ‘न्युबिज कन्क्लेभ तथा बिजनेस एक्सिलेन्स अवार्ड, २०२५’ मा साल्ट ट्रेडिङले उक्त अवार्ड पाएको हो ।
नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलका रुपमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशनले ६ दशकदेखि नेपालमा सहज र सुपथ मूल्यमा खाद्य तथा दैनिक उपभोग्य वस्तु विक्री गरेर मुलुकको आपूर्ति प्रणालीमा उल्लेख्य सहयोग पुर्याइरहेको छ ।
खासगरी पीपीपी मोडलमार्फत सञ्चालनमा भइरहेको उक्त संस्थानले सार्वजनिक संस्थानहरूकै इतिहासमा नून जस्तो महत्त्वपूर्ण वस्तुको सहज पहुँच बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको छ । साल्ट ट्रेडिङ नेपालमा पीपीपीको आधारमा स्थापना भएको पहिलो संस्था हो । यसमा सरकारको वाणिज्य विभागको ११ दशमलव ५९ प्रतिशत शेयर छ भने तत्कालीन नेशनल ट्रेडिङ कर्पोरेशन लिमिटेडको ९ प्रतिशत शेयर रहेको छ ।
आयोडिनयुक्त नून देशभर सहज बनाउन र हरेक वर्ष हुने अभाव एवं कालोबजारी रोक्न पीपीपी मोडलमा साल्ट ट्रेडिङको स्थापना भएको थियो । साल्ट ट्रेडिङ स्थापना हुनुअघि सरकारले विभिन्न क्षेत्र र मात्रा तोकेर विभिन्न व्यक्तिलाई नून आयातको अनुमति दिँदै आएको पाइन्छ । साल्ट ट्रेडिङको स्थापनापछि पनि निजीक्षेत्रलाई नून विक्री गर्न दिने प्रयास भएको थियो । त्यस्तो प्रयासस्वरूप नून उद्योग नै स्थापना भएर आपूर्ति शुरू भए पनि पछि सरकारले साल्ट ट्रेडिङभन्दा अन्यलाई आयात गर्न नदिने नीति लियो । उक्त नीतिविरुद्ध एउटा नून उद्योगले हालेको मुद्दा सर्वोच्च अदालतले २०६१ सालमा खारेज गरिदिएको थियो ।
तत्कालीन समयमा जनतालाई सहज रूपमा नून उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेशनले पछिल्ला दिनमा व्यापारमा विविधीकरण गर्दै नूनसँगै अन्य उत्पादनका लागि पनि लगानी गरेको थियो ।
कर्पोरेशनले नेपालमै पहिलोपटक खाद्य उद्योग लिमिटेड नामक मैदा मिलमा लगानी गर्यो । त्यस्तै वनस्पति घिउ उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, मोरङ सुगर मिल, नेशनल फाइनान्स लिमिटेडलगायतमा पनि लगानी गर्यो । सगरमाथा इन्स्योरेन्स, मेट्रो ग्यास उद्योग, उपहार हाउजिङ, हिमालय प्याकेजिङ उद्योगसहित गहुँको बीउ उत्पादनदेखि सरकारी अनुदानको रासायनिक मल खरीदविक्री, सहुलियतमा चिनी, दाल, गेडागुडीलगायतको व्यापार क्षेत्रमा साल्ट ट्रेडिङले हाल हालेको छ ।
वनस्पति घिउ, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखानालगायत केही उद्योग हाल बन्द छन् । यद्यपि संस्थाले मेट्रो ग्यास, उपहार हाउजिङ, हिमालय प्याकेजिङ, सहुलियत दरको चिनी, नून, रासायनिक मल र खाद्यान्न व्यापारले भने सफलता हात पारेको छ ।
हेटौंडास्थित खाद्य उद्योग लिमिटेडले विसं २०३० सालदेखि मैदा उत्पादन थाल्यो । व्यापारमा विविधीकरण र अन्य अत्यावश्यक वस्तुको समेत व्यापार बढाउने सोचसहित कर्पोरेशनले नेपालमै उत्पादित कृषि वस्तुमा आधारित उद्योग पनि स्थापना गर्ने नीतिअनुरुप यो कारखाना स्थापना गरेको हो । नेपाली भूमिमा उत्पादित गहुँको बजारीकरण, प्रशोधन गरी मैदा, आटा, सुजी र चोकर उत्पादन गरेर स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने यसका मुख्य उद्देश्य रहेका छन् ।