तीन वर्षयता सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लाका ग्रामीण भेगमा जैविक ऊर्जामा आधारित गोबरग्यासको लोकप्रियता निकै बढेको छ । ती दुई जिल्लामा मात्रै अहिलेसम्म १७ हजार ४ सय १९ गोबरग्यास प्लाण्ट निर्माण भइसकेको घरेलु गोबरग्यास तथा प्रविधि विकास कम्पनीका प्रमुख वेदप्रकाश पाण्डेले बताए । त्यसमध्ये कैलालीमा १ हजार ८ सय ७७ र कञ्चनपुरमा ७ हजार ५ सय ४२ गोबरग्यास छन् । कैलालीको हसुलिया गाविस भने बायोग्यास नमूना गाउँका रूपमा स्थापित भएको छ ।
कम्पनीका अनुसार सेती र महाकालीका पहाडी जिल्लाहरूमा पनि क्रमिक रूपमा गोबरग्यासको लोकप्रियता बढिरहेको छ । अहिलेसम्ममा ती दुई अञ्चलका डँडेलधुरा, बैतडी, डोटी, दार्चुला, अछाम, बझाङ र बाजुरामा गरी ५ सय ३५ गोबरग्यास प्लाण्ट निर्माण भइसकेको पनि सो कम्पनीले बताएको छ । गाईभैंसीको गोबरको प्रयोगबाट ग्यास बनाइने हुनाले कृषकलाई निकै सजिलो भएको छ । विशेषगरी इन्धनको अभाव र मूल्यवृद्धि झेलिरहनुपर्ने उपभोक्ताहरू गोबरग्यास प्लाण्टको स्थापनापछि आफूहरूलाई आर्थिक रूपमा पनि निकै लाभ भएको बताउँछन् । एक वर्षदेखि गोबरग्यासबाट खाना पकाउँदै आएका गेटा गाविस–३ का लालप्रसाद चौधरीले भने, ‘मेरो २० जनाको परिवारलाई दुई भैंसी र एक गोरुको गोबरबाटै उत्पादित ग्यासबाट खाना पकाउने गर्छौं अनि लोडसेडिङको बेला बत्तीसमेत बाल्ने गरेका छौं ।’
वर्ष ६, अंक ३७, बिहीवार, ४ कात्तिक, २०६७