काठमाडौं । जाडोयामको शुरुआतसँगै यतिबेला मानिसहरू न्यानो तथा बाक्लो लुगाको खोजीमा वस्त्रालय धाउन थालेका छन् । विशेषगरी काठमाडौंका न्यूरोड, भोटाहिटी, असन, इन्द्रचोकजस्ता मुख्य बजारमा जाडोका पहिरन किन्नेहरूको भीड नै लाग्ने गरेको छ । यस्तोमा अधिकांशले स्वेटर, ज्याकेट, पञ्जा, पाइण्ट, डाउन कोट, विण्ड प्रूफ ज्याकेटलगायत जाडो छल्ने कपडा रोज्ने गरेका छन् ।
कतिपयलाई जाडोका लागि कस्तो कपडा किन्ने भन्ने अन्योल पनि हुने गरेको व्यवसायीहरू बताउँछन् । यस्तो अवस्थामा फेशनलाई प्राथमिकता नदिई हावा नछिर्ने र न्यानो कपडा किन्नु उपयुक्त हुने राजधानीको भोटाहिटीस्थित नेपाल ऊल हाउसका सञ्चालक ज्ञानेन्द्ररत्न तुलाधरको सुझाउ छ । विगत ६० वर्षदेखि यो व्यवसायमा संलग्न उनी भन्छन्, ‘चिसोको कारणले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले स्वेटर, ज्याकेट, पञ्जा, पाइण्ट, कुर्तासलवार, डाउन कोट, विण्ड प्रूफ, ज्याकेटजस्ता न्यानो कपडा किन्दा उपभोक्ता लाभान्वित हुन सक्छन् ।’
हामी जाडोयामका कपडामा धेरै पैसा खर्च गर्छौं । गर्मीयामभन्दा जाडोमा लगाउने कपडा केही महँगा पनि हुन्छन् । जाडोकै पनि विभिन्न डिजाइनका कपडा बजारमा उपलब्ध छन् । यस्ता कपडामा वर्षैपिच्छे आउने नयाँ–नयाँ फेशनले उपभोक्तालाई छनोटको सुविधा पनि मिलेको छ । विशेषगरी नेपाली महिला तथा युवतीका लागि बजारमा आएका नयाँ फेशनले उनीहरूलाई हिँडडुल गर्न, काम गर्न, विवाह, भोज, भतेर र कार्यालय जानेलगायत काममा सजिलो पनि बनाइदिएको छ । तर, कुन अवस्थामा कस्तो कपडा लगाउने भन्ने थाहा नपाउँदा कपडाका लागि गरेको लगानी त्यत्तिकै खेर जान सक्छ । त्यसैले, कपडा किन्नुअघि कुन कपडा कुन अवस्थामा लगाउने भन्नेबारे राम्ररी जानकारी लिन जानकारहरू सल्लाह दिन्छन् ।
कपडा किन्दा बाइक चलाउनेहरूले त झन् धेरै कुरामा ध्यान दिनुपर्छ । जाडोको समयमा बाइक चलाउनेहरूले विण्ड चिटर, चेष्ट गार्ड, टोपीजस्ता हावा नछिर्ने पहिरन अनिवार्य रूपमा लगाउनुपर्ने स्वास्थ्यविद्हरूको सुझाव छ ।
बजार मूल्य
नेपालमा विशेषगरी ज्याकेट, स्वेटर, पाइण्टलगायत पहिरन चीनबाट आयात हुने गरेको छ । तातोपानी नाका बन्द भएपछि पहिरनका सबै सामान रसुवाको केरुङ नाका भएर आउने गरेको छ । यसले गर्दा अहिले जाडोका कपडाको मूल्यवृद्धि भएको चर्चा पनि बजारमा छ । तर, ब्राण्डेड कपडाका व्यापारीहरू भने यो कुरा स्वीकार गर्दैनन् ।
राजधानीको भोटाहिटीस्थित नेपाल ऊल हाउसका सञ्चालक तुलाधर तातोपानी नाका बन्द भएर केरुङ नाकाबाटै आए पनि कपडाको मूल्यमा खासै फरक नभएको र क्रयशक्तिअनुसार छिमेकी देशहरूबाट आयातित कपडा नेपालीका लागि उपयुक्त भएको बताउँछन् । ‘चीनका सामान केरुङ भएर आए पनि त्यस्तो महँगो परेको छैन,’ उनी भन्छन्, ‘नेपालीको क्रयशक्ति हेर्ने हो भने चीनबाट आयातित कपडाको मूल्य उचित नै छ ।’ ब्राण्डेड भनिएका तेस्रो मुलुकबाट आयात गरिएका कपडा मध्यम वर्ग र निम्न वर्गका नेपालीले किनेर लगाउन नसक्ने उनको भनाइ छ ।
सामान्यतया मानिसले कपडा किन्दा फेशनलाई बढी प्राथमिकता दिएको पाइन्छ । तर, जानकारहरू फेशनलाई भन्दा स्वास्थ्यमा बढी ध्यान दिन सल्लाह दिन्छन् । नेपाल ऊल हाउसले बच्चादेखि बूढासम्मका लागि ऊन पहिरन, ज्याकेट, कोटलगायत सामान विक्री गर्दै आएको छ । जाडोयाममा चिसोबाट बच्न भित्री पहिरनमा थर्मल, स्वेटर र बाहिरी पहिरनमा ज्याकेट लगाउन सल्लाह दिन्छन् यसका सञ्चालक तुलाधर । उनी भन्छन्, ‘अहिलेको फेशनको जमानामा मानिसले स्वास्थ्यलाई भन्दा फेशनलाई बढी प्राथमिकता दिन्छन्, त्यसो गर्दा स्वास्थ्यमा असर पर्न सक्छ । जाडोयामभरि शरीरलाई न्यानो हुने थर्मल, स्वेटर ज्याकेट, पाइण्ट र भित्री पहिरनमा ट्राउजर, टोपीलगायत कपडा लगाए चिसोबाट बच्न सकिने उनको सल्लाह छ ।
नेपाल ऊल हाउसले जाडोका कपडामा ऊनबाट बनेका स्वेटर, मोजा, सल, पञ्जा, ज्याकेट, ट्राउजर, मफलरलगायत पहिरन विक्री गरिरहेको छ । आफूले चीनबाट ४० प्रतिशत, भारतबाट ४० प्रतिशत र नेपालमा बनेका २० प्रतिशत विभिन्न ब्राण्डका पहिरन ‘फिक्स’ मूल्यमा विक्री गरिरहेको तुलाधरले बताए ।
यता, खिचापोखरीस्थित प्लानेट फेशनका कर्मचारी सम्पतकुमार बाग्रा बजारमा विभिन्न फेशन आए पनि जाडोयाममा चिसोका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने हुँदा कपडा किन्दा भन्दा स्वास्थ्यलाई पनि ध्यान दिन सल्लाह दिन्छन् । हावा नछिर्ने ज्याकेट, स्वेटर, पाइण्ट र भित्री कपडामा ट्राउजर लगाउन उपयुक्त हुने उनको भनाइ छ ।
लेडिज आइटम मात्र विक्री गरिरहेको फेशन प्लानेटबाट यसपालिको जाडोयाममा स्वेटर, ज्याकेट, ट्राउजरलगायत कपडा विक्रीवितरण गरिरहेको छ । फेशन प्लानेटबाट विक्री गरिने कपडा चीन र भारतबाट आयात गर्ने गरेको उनले बताए ।
जाडोमा हावा नछिर्ने बाक्ला तथा नरम खालका डाउन ज्याकेट, सिलिकन ज्याकेट, विण्ड प्रूफ, चेष्ट गार्ड, पञ्जा, टोपी लगाउनुपर्ने दरबारमार्गस्थित मोण्टे कार्लोकी सञ्चालिका निशी शर्मा बताउँछिन् । इण्डियन कम्पनी मोण्टे कार्लोबाट उनले मोण्टे कार्लो ब्राण्डका लेडिज तथा जेण्ट्स दुवैका लागि पाइण्ट, ज्याकेट, स्वेटर, थर्मललगायत कपडा विक्री गरिरहेको बताइन्, जसमा ज्याकेट ५ हजारदेखि १० हजारसम्म, पाइण्ट २ हजार ८ सयदेखि ५ हजारसम्म, कम्प्याक्ट स्वेटर ३ हजार ८ सय तथा स्वेटर ५ सयदेखि बढी मूल्यका रहेको उनले जानकारी दिइन् ।
कतिपय पसलले चिनियाँ सस्तो कपडालाई पनि कोरियन, थाई बताउँदै ठग्ने गरेका उदाहरण प्रशस्तै भेटिन्छ । त्यस्ता पसलेहरूकै कारण अन्य ब्राण्डेड कपडाका पसलेहरूलाई पनि असर पर्ने तथा उपभोक्ता ठगिने गरेका उदाहरण प्रशस्तै छन् । त्यसैले, दुई/तीनओटा पसलमा पुगेर मूल्य, गुणस्तर, विशेषतालगायत बुझेर जाडोका कपडा किन्दा ठगिनबाट बच्न सकिन्छ भने लगानी पनि खेर जाँदैन ।