- द लास्ट रिसोर्टसँगको सहकार्यमा स्काई वाक टावरबाट बन्जी जम्प शुरू गर्ने
- स्काई वाकमा दुईओटा मनोरञ्जनात्मक गतिविधि थप्न थप ७ करोड रुपैयाँ लगानी हुने
काठमाडौं । मुलुकका विभिन्न स्थानमा उपलब्ध रहेको साहसिक खेल बन्जी जम्प अब काठमाडौं उपत्यकाभित्रै सञ्चालन हुने भएको छ । दुई वर्षदेखि काठमाडौंको कमलादीमा स्काई वाक टावर सञ्चालन गरिरहेको समूहले बन्जी जम्पका लागि ख्याति कमाएको द लास्ट रिसोर्टसँगको सहकार्यमा स्काई वाक टावरबाट बन्जी जम्प खेल शुरू गर्ने तयारी गरेको हो ।
नेपालमा पहिलोपटक बन्जी जम्प सञ्चालन गरेको द लास्ट रिसोर्ट (भोटेकोशी बन्जी जम्प)सँगको सहकार्यमा कमलादीको स्काई वाक टावरमा भदौदेखि बन्जी जम्प शुरू गर्न लागेको स्काई वाक काठमाडौंका प्रबन्ध निर्देशक (एमडी) विष्णुहरि पाण्डेले जानकारी दिए । स्काई वाक परियोजना अवधिमा कोरोना महामारी आएकाले अन्य गतिविधि ल्याउन नसकिएको भन्दै उनले अब प्रारम्भिक योजनाअनुसारका गतिविधि सञ्चालन गर्न लागेको जानकारी दिए ।
‘दुई वर्षअघि स्काई वाक टावर मात्रै खुला गरिएको थियो, यसका अन्य गतिविधि अझै आउन बाँकी छन्,’ पाण्डेले भने । ‘ती गतिविधिमध्ये टावरबाटै बन्जी जम्प गराउने भनिएको छ, त्यसअनुसार अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अन्तिम चरणमा पुगेको छ ।’ द लास्ट रिसोर्टसँगको सहकार्यमा सिटी बन्जी जम्पको अवधारणामा काम गरिएको उनको भनाइ छ । उनले असार अन्तिमसम्ममा ईआईएको काम सम्पन्न हुने र भदौसम्ममा स्काई वाकबाट बन्जी जम्प शुरू गर्ने गरी काम भइरहेको जानकारी दिए ।
त्यस्तै, स्काई वाक भएको स्थानमै भर्चुअल रियालिटी डोम पनि सञ्चालन गर्न लागिएको पाण्डेले जानकारी दिए । यसमा एउटा डोममा ग्राहक आधा घण्टाका लागि बस्नेछन् । त्यो भर्चुअल डोममा उनीहरूले समुद्र र चन्द्रमामा पुगेको जस्ता अनुभूति गर्न पाउनेछन् । पाण्डेका अनुसार यो भर्चुअल डोम भने मध्य साउन (जुलाई अन्तिम)सम्ममा सञ्चालनमा आउनेछ ।
असार १५ गते स्काई वाक सञ्चालनमा आएको २ वर्ष पुगेर ३ लागेको छ । बन्जी जम्प र भर्चुअल डोम थप्ने र टावर आसपासका रेस्टुराँ, क्लबहरू पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी पनि भएको छ । ‘सार्वजनिक बिदाको दिनमा १ हजारदेखि १ हजार ३०० सम्म अवलोकनकर्ता आउने गरेका छन्,’ पाण्डेले भने । ‘काम गर्ने दिनमा भने ४०० सम्म आउने गरेका छन् ।’
उक्त स्काई वाक टावरमा उनीसहित ८० जनाले १ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन् । उनले बन्जी जम्प र र डोम बनाउन ७ करोड रुपैयाँ लगानी थपेको जानकारी दिए । सिटी बन्जीका रूपमा अघि बढाउन खोजिएको भन्दै उनले अन्य साहसिक प्रडक्ट पनि थप्दै जाने बताए ।
तेस्रो वर्षमा प्रवेश गरेको स्काई वाक वन्डर्स नेपाल प्रालिले सञ्चालन गरेको हो । यो कम्पनीले धरानको भेडेटार र इलामको कन्याममा स्काई वाक टावर सञ्चालन गरेको छ ।
यो स्काई वाक टावरमा चढ्न नेपाली नागरिकले १ हजार ५० रुपैयाँ र विदेशी पर्यटकले भने १ हजार ६०० रुपैयाँ तिर्नुपर्छ । टावरमा कर्पाेरेट योग सञ्चालन गरिएको छ । यस्तै, वार्षिक उत्सवका अवसरमा स्काई वाकमा आउने पाहुनालाई उनीहरूकै फोटोसहितको कप निःशुल्क उपहार दिने अफर कम्पनीले सञ्चालन गरेको छ । यो अफर ३ महीनासम्म चल्ने पाण्डेले बताए । १३ रोपनीमा निर्माण भएको स्काई वाक टावर ७८ दशमलव ५ मीटर अग्लो छ । टावरको २५औैं तलामा स्काई वाक (सिसा ओछ्याइएको भुइँ)मा हिँड्न पाइन्छ ।