काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी छन् ।
उनले काठमाडौँमा आज (शनिवार) जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी हुन् ।
उनले आफू राष्ट्रपतिको फरक राजनीतिक जिम्मेवारीबाट मुक्त भएको २ वर्ष पुगेको उल्लेख गर्दै अब सक्रिय राजनीतिमा फर्किएर काम गर्ने अठोट लिएर पार्टीको सदस्यता नवीकरण गरेको उल्लेख गरिन् । उनले उक्त कार्यक्रममा अब जीवनपर्यन्त एमालेमै रहेर काम गर्ने घोषणा गरिन् ।
उनले एमालेको सदस्यता नवीकरणसँगै पार्टी परिवारको एक सदस्य भएर आफू जोडिए पनि राजनीतिमा फेरि सक्रिय हुनुमा आफ्नो कुनै विशेष महत्त्वाकांक्षा नभएको बताइन् ।
‘‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले)मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेकी छु’’, उनले भनिन्, ‘‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएकी छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्त्वाकाङ्क्षा छैन ।’’