काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि गरिएको गाली र अपमान सहने तर शहीद, जनताको बलिदान र विद्यमान व्यवस्थाप्रति कसैले अपमान गरे सहन नसक्ने बताउनुभएको छ ।प्रतिनिधिसभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले संसद् जनताको बलिदान, सङ्घर्ष र सपना साकार पार्ने थलो भएकाले सदनमा लोकतन्त्र र राष्ट्रियता कमजोर बनाउने टिप्पणी नगर्न आग्रह पनि गर्नुभयो । उहाँले विद्यमान व्यवस्थालाई अझ प्रभावकारी बनाउने गरी संविधान संशोधनमा सरकार लाग्ने भएकाले संविधान र प्रणालीको अपमान हुने खालका कुरा नगर्न पनि आग्रह गर्नुभयो ।
“यो प्रणाली र संविधानको रक्षा गरौँ । यसको कार्यान्वयन गर्दै मुलुकलाई समृद्ध, नेपाल सुखी नेपालीको गन्तव्य पूरा गर्ने सवालमा सरकार अघि बढेको छ । यसमा सबै ढुक्क भए हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “म ममाथि गरिएको गाली र अपमान सहन्छु तर शहीद, जनताको बलिदान र विद्यमान व्यवस्थाप्रतिको अपमान सहन्न । संसद् जनताको बलिदानको धज्जी उडाउने र प्रणालीको अपमान गर्ने थलो हुन सक्दैन ।”
विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावका सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसदहरू सन्तुष्ट हुने स्थिति नभएकाले आगामी दिनमा सन्तुलन कायम गर्न प्रयास गरिने बताउनुभएको छ ।
बजेट सकेसम्म सन्तुलित रुपमा ल्याइएको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न अझ प्रयास गरिने बताउनुभएको छ ।“हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ । त्यसकारण बजेटमा सबै सांसद सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ । माग र आपूर्तिको असन्तुलन मिलाउन आगामी दिनमा ध्यान दिइनेछ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीलाई लगानीको आवश्यकता छ, यसका लागि निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनु परेको छ । लगानीको आवश्यकता, विश्लेषण र योजनाका लागि लगानी बोर्डबाट प्रभावकारी काम गरिनेछ ।”
प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगका योजना बैङ्कको व्यवस्था गरी रु ३ करोडभन्दा मुनिका आयोजना नराख्ने नीति तर्जुमा गरिएको जनाउँदै आगामी वर्षमा यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताउनुभयो ।
राज्यका सबै निकायलाई विकास निर्माण र सुशासनका लागि प्रभावकारी रुपमा काम गरेर जनअपेक्षाअनुरुप समुन्नतिको मार्गमा अघि बढाउन सरकार प्रयासरत रहेको स्पष्ट गर्दै सरकारलाई कसैका विरुद्ध कुनै खेल खेल्ने फूर्सद नभएकाले खेल खेल्यो भन्ने खालका कुप्रचार नगर्न पनि आग्रह गर्नुभयो । रासस