काठमाडौं । गत जेठमा निर्जीवन बीमा कम्पनीहरूले करीब ४ अर्ब रुपैयाँको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ ओटा निर्जीवन बीमा कम्पनीले गत महीना २ लाख २८ हजार ८०४ बीमालेखमार्फत ३ अर्ब ९३ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका हुन् । तीमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले सर्वाधिक बीमाशुल्क संकलन गरेको छ ।
उक्त कम्पनीले गत महीना २१ हजार ६९ बीमालेख जारी गरी ४६ करोड २२ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ ।
यो सूचीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स क्रमशः दोस्रोबाट चौथो स्थानमा छन् । यी कम्पनीहरूले जेठमा क्रमशः ४३ करोड २७ लाख। ४२ करोड ८९ लाख र ४० करोड ९० लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । गत महीना सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनी परेको छ । उक्त कम्पनीले जेठमा ४ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
गत महीना निर्जीवन लघुबीमा कम्पनीहरूले भने ८ करोड २६ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । ४ निर्जीवन लघुबीमा कम्पनीमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले जेठमा २ करोड ३० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।