काठमाडौं । यस वर्षको वर्षे धान रोपाइँ हाल देशभर २० दशमलव ३ प्रतिशत सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ४९ दशमलव २ प्रतिशत धान रोपाइँ भएको छ भने मधेश प्रदेशमा सबैभन्दा कम ३ दशमलव ९ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
केन्द्रका अनुसार देशभर कुल १३ लाख ९१ हजार ३२१ हेक्टर जमीनमा वर्षे धानखेती हुने गरेकामा हालसम्म २ लाख ८१ हजार ८०४ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । गतवर्षको तुलनामा यस वर्ष सोही अवधिमा धान रोपाइँमा १ प्रतिशतले कमी आएको छ । गतवर्ष असार १५ गतेसम्ममा २१ दशमलव ३ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अर्थात् ४९ दशमलव २ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गतवर्ष यही अवधिमा त्यहाँ ५४ दशमलव २ प्रतिशत रोपाइँ सकिएको थियो । सुदूरपश्चिम प्रदेशमा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमीनमा धानखेती हुने गरेकोमा हालसम्म ८६ हजार ६०१ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । केन्द्रका वरिष्ठ माटो विज्ञ बलराम रिजालका अनुसार सुदूरपश्चिममा पूर्वका जिल्लाहरूको तुलनामा चाँडै रोपाइँ गरिने भएकाले सो प्रदेशमा रोपाइँको प्रगति उच्च देखिएको हो ।
उता, मधेश प्रदेशमा भने चैतमा धान रोप्ने प्रवृत्ति रहेकाले वर्षे धान रोपाइँ ढिलो हुने गरेको बताइएको छ । चैते धान भित्र्याएपछि मात्र वर्षे धान रोपाइँ हुने भएकाले हालसम्म रोपाइँ कम भएको हो । मधेश प्रदेशमा अहिलेसम्म ३ दशमलव ९ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । गतवर्ष सोही अवधिमा ८ दशमलव २ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यो प्रदेशमा कुल ३ लाख ८० हजार २८३ हेक्टर जमीनमा धानखेती हुने गर्छ ।
कर्णाली प्रदेशमा हालसम्म ३९ दशमलव १ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कुल ४० हजार ८८४ हेक्टर क्षेत्रफलमा धानखेती हुने यो प्रदेशमा अहिले करिब १६ हजार हेक्टरमा रोपाइँ भइसकेको छ । गतवर्ष सोही अवधिसम्म कर्णालीमा करीब ४७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । लुम्बिनी प्रदेशमा हालसम्म २४ दशमलव ३ प्रतिशत धान रोपाइँ भएको छ । गतवर्ष सोही अवधिमा यो आँकडा २२ दशमलव ८ प्रतिशत थियो । लुम्बिनीमा कुल ३ लाख २ हजार ८८९ हेक्टर जमीनमा धानखेती हुने गर्दछ ।
गण्डकी प्रदेशमा हालसम्म २८ दशमलव २ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गतवर्ष सो अवधिमा त्यहाँ २१ दशमलव ९ प्रतिशत मात्र रोपाइँ भएको थियो । यो प्रदेशमा कुल ९४ हजार १८२ हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ ।
बागमती प्रदेशमा हालसम्म २० दशमलव ५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गतवर्षको सोही अवधिमा यहाँ झन्डै १९ दशमलव ६ प्रतिशत रोपाइँ भएको थियो । बागमतीमा कुल १ लाख २० हजार ५४५ हेक्टर जमीनमा धानखेती हुने गर्दछ । यस्तै कोशी प्रदेशमा १४ दशमलव ३ प्रतिशत धान रोपाइँ सकिएको छ ।