चैत २३, सुर्खेत । माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि भारतीय बहुराष्ट्रिय कम्पनी जीएमआरसँग भएको सम्झौता खारेज गर्न दबाब बढ्दै गएको छ । उक्त सम्झौता खारेज गर्न दबाबमूलक अभियान शुरू गरिएको छ । ‘माथिल्लो कर्णाली बचाऔं’ अभियानमार्फत सम्झौता खारेजीका लागि दबाब बढेको हो ।
आयोजनाको प्रभाव क्षेत्रका बासिन्दाले उक्त अभियानमार्फत सम्झौता खारेजको माग गर्दै आन्दोलन थालेका छन् । अभियानकर्ताहरूले स्वदेशी लगानीबाटै आयोजना बनाइनुपर्ने बताएका छन् । गतवर्ष असोज ३ गते उक्त जलविद्युत् परियोजना जीएमआरले निर्माण गर्ने गरी पीडीए सम्झौता भएको थियो । पीडीए खारेज गरी स्वदेशी लगानीमा आयोजना निर्माण गर्न अभियानकर्ताले माग गरेका छन् । अभियानका अध्यक्ष भरतबहादुर शाहीले जलाशययुक्त ४ हजार १ सय ८० मेगावाट क्षमताको माथिल्लो कर्णाली परियोजना ९ सय मेगावाट क्षमतामा झारेर बनाउन खोज्नु दुर्भाग्यपूर्ण भएको बताए ।
प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र संसद्को लेखा समितिका सभापति जनार्दन शर्मालाई भेटेर सम्झौता खारेजका लागि पहल गर्न आग्रह गरिसकिएको सदस्य कृष्णराज पाण्डेले बताए । २ किलोमिटर सुरुङ बनाएर ४ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिने परियोजना भएकाले सरकारले स्वदेशी लगानीमा निर्माण गर्नुपर्ने जनस्तरबाट माग गरिएको छ ।
अभियानका क्रममा आयोजनको प्रभाव क्षेत्र दैलेख, सुर्खेत, कालिकोट, अछामलगायत जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको छ । सम्झौताका शर्त र लाभ–हानि समेटिएको वृत्तचित्र बनाएर अभियानकर्ताले प्रदर्शन गरिरहेका छन् । उक्त वृत्तचित्रमा राजनीतिक दलका नेता, पूर्वप्रशासक र जलस्रोत विज्ञले माथिल्लो कर्णाली सम्झौता खारेज गरेर स्वदेशी लगानीमा निर्माण गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
भारत निर्यात गर्ने उद्देश्यका साथ विकास गर्न लागिएको आयोजनाबाट नेपालले २७ प्रतिशत निःशुल्क शेयर र १२ प्रतिशत ऊर्जा पाउने सम्झौतामा उल्लेख छ । त्यस्तै, दक्ष तथा अदक्ष गरी २ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको परियोजनाबाट नेपाल सरकारले कर, दस्तुर, ऊर्जा र शेयरबापत गरी ३ सय अर्ब वित्तीय फाइदा लिन सक्ने दाबी गरिएको छ । जीएमआरले २०१६ जुन ३० बाट निर्माण शुरू गरी २०२१ जुनमा आयोजना सम्पन्न गर्नुपर्ने पीडीएमा उल्लेख छ ।