सरकारले काठमाडौं– वीरगञ्ज सडक खण्डलाई मालसामान ढुवानीका लागि उपयुक्त व्यापारिक मार्गका रूपमा विकसित गर्ने भएको छ । विश्व बैङ्क र एशियाली विकास बैङ्क (एडीबी) को आर्थिक सहयोगमा व्यापारिक मार्गका रूपमा विकसित गर्न सडक चौडा गर्न थालिएको सडक विभागका उपमहानिर्देशक देवेन्द्र कार्कीले अभियानलाई बताए ।
‘यस सडक खण्डको कालोपत्रेमा अहिलेको भन्दा गुणस्तर वृद्धि गरिनेछ,’ उनले भने, ‘नेपाल–भारतबीचको व्यापारलाई सहज बनाउन यो मार्गले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’ नेपाल–भारत व्यापार सहजीकरण कार्यक्रमअन्तर्गत उक्त सडक चौडा तथा स्तरोन्नति गर्न थालिएको हो । अहिले सो सडक खण्डको गुणस्तर ढुवानीका लागि नभई यात्रु सवारीसाधन आवागमनका लागि मात्र उपयुक्त रहेको विभागको भनाइ छ ।
व्यापारिक मार्ग बनाउन पहिलो चरणमा नारायणगढ–मुग्लिङ सडक चौडा गर्न थालिएको हो । यसका लागि विश्व बैङ्कसँग सम्झौता गर्ने तयारी भइरहेको विभागले बताएको छ । ‘३६ किलोमीटर पर्ने सो खण्ड चौडा गर्न र कालोपत्रेको गुणस्तर वृद्धि गर्न रू. २ अर्ब २५ करोड खर्च लाग्ने अध्ययनले देखाएको छ,’ कार्कीले भने, ‘अहिले उक्त सडकको वातावरणीय र सामाजिक प्रभावको विषयमा अध्ययन भइरहेको छ ।’ विभागका अनुसार केही दिनभित्रै उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरिनेछ ।
वर्ष ८, अंक ७५, सोमवार १८ मङ्सिर, २०६९