काठमाडौं । काठमाडौं उपत्यकाभित्रका खोलाकिनारका दायाँबायाँ थप २० मीटर जग्गामा संरचना बनाउन नदिने गरी निषेधित क्षेत्र तोक्ने सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्न सरकार, सदन र सडकबाट दबाब बढेको छ ।
काठमाडौं उपत्यकाका खोलाकिनारमा संरचना बनाउँदा थप २० मीटर छोड्नुपर्ने सर्वोच्चको फैसला व्यावहारिक नभएको भन्दै न्यायिक पुनरवलोकन गर्न चौतर्फी दबाब परेको हो । संविधानको धारा १३३ (४) अनुसार सर्वोच्चलाई आफ्नो फैसला वा अन्तिम आदेश पुनरवलोकन गर्ने अधिकार हुन्छ । त्यसरी पुनरवलोकन गर्दा पहिला फैसला गर्ने न्यायाधीशबाहेक अन्य न्यायाधीशले गर्ने संवैधानिक व्यवस्था छ । त्यही धाराको अधीनमा रही सरकारसमेत पुनरवलोकनमा जाने तयारीमा लागेको छ ।
आइतवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग कुराकानी गर्दै मुख्यसचिव एकनारायण अर्यालले सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्नुपर्ने र त्यसका लागि सरकारले प्रक्रिया अघि बढाउने बताएका छन् ।
अदालतको फैसला कार्यान्वयन गर्दा अप्ठ्यारो पर्ने अवस्था रहेका कारण पुनरवलोकनमा जानुको विकल्प नरहेको उनले भनाइ छ । ‘काठमाडौं उपत्यकाका खोलाकिनारमा संरचना बनाउँदा थप २० मीटर छाड्नुपर्ने सर्वोच्चको फैसलाको समीक्षा (रिभ्यु) गर्नुपर्छ । केही कुरा राम्रा पनि आएका छन्, महानगर र सरकारले गर्नुपर्ने केही विषय छन् । केही विषय कार्यान्वयन गर्दा अप्ठ्यारो पर्ने अवस्था छ । त्यस विषयमा सरकारको टीमले काम गरिरहेको छ,’ उनले भने ।
उनका अनुसार सर्वोच्चमा यसबारे सरकारको धारणा पेश गर्ने तयारी छ । सर्वोच्चको उक्त फैसलाले विवाद सृजना गरेपछि सरकारले अध्ययन गर्न अघिल्लो साता कार्यदल बनाएको थियो । गत भदौ १६ गते मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा छलफल गरी शहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीको नेतृत्वमा कार्यदल बनाएर भदौ २५ गतेभित्रै प्रतिवेदन बुझाउने समय तोकिएको थियो ।
कार्यदललाई दिइएको कार्यादेशमा सर्वाेच्च अदालतको आदेश कार्यान्वयन गर्न सकिने खण्ड/विषय पहिल्याई त्यसका लागि सम्बद्ध निकायहरूबाट कार्ययोजना लिई प्रतिवेदनमा समावेश गर्ने उल्लेख छ । कार्यदलका अनुसार कार्यादेशमा रहेर काम भइरहेको छ । ‘अदालतको आदेशबारे सूक्ष्म विश्लेषण गरी निर्धारित समयमै प्रतिवेदन बुझाइनेछ,’ कार्यदलका एक सदस्यले आर्थिक अभियानसँग भने ।
कार्यदलले के–कस्ता विषय वा आदेश कार्यान्वयन चुनौतीपूर्ण छन् पहिल्याउन, चुनौतीपूर्ण हुनुका आधार र कारण खुलाउन, नदी दायाँबायाँ थप २०/२० मीटर तथा अन्य प्रयोजनका लागि जग्गा प्राप्त गर्ने आदेश कार्यान्वयन गर्दा के–कति घरधुरी, जग्गा कानूनबमोजिम प्राप्त गर्नुपर्ने हुन्छ, त्यसका लागि के–कति रकम आवश्यक पर्छ, यसबारे पनि स्पष्ट विवरण तयार पारेर सरकारलाई बुझाउनुपर्नेछ ।
२०६५ कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको बागमती र यसका मुख्य सहायक नदी (विष्णुमती मनोहरा) मा २० मीटर दायाँबायाँ खोलाको बहाव क्षेत्र तोकेको थियो । खोलाको यो बहाव क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइँदैन । धोबीखोलाको हकमा उक्त खोलामा आयोजना भएको स्थानमा परियोजनाको प्लानिङअनुसारको दूरी र प्लानिङबाहेकका स्थानमा दायाँबायाँ नौ मीटर बहाव क्षेत्र किटान गरिएको थियो । नख्खु खोलामा १२ मीटरको मापदण्ड तोकिएको थियो ।
बल्खु, कर्मनासा, कोइकु, साङ्ले र महादेव खोलामा १० मीटर र करखुशी खोलामा ६ मीटर बहावक्षेत्र कायम गरिएको थियो । टुकुचा, सामाखुशी र उपत्यकामा बग्ने अन्य खोलामा चार मीटर तोकिएको थियो । मन्त्रिपरिषद् बैठकले कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न नपाइनेसमेत निर्णय गरेको थियो । त्यतिबेला हनुमन्ते खोला बग्ने क्षेत्रका साविक नगरोन्मुख गाविशहरूमा समेत खोलाको किनारबाट २० मीटर छाडेर मात्रै संरचना निर्माण गर्न पाइने नियम बनाइएको थियो ।
सर्वोच्च अदालतले २०८० पुस ३ गते बागमती र यसका सहायक नदीहरूमा बढ्दो प्रदूषण र अतिक्रमण हटाउन भन्दै थप मापदण्ड तोक्ने गरी परमादेश जारी गरेको थियो । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट दायर दुईओटा रिटमा अन्तिम सुनुवाइ गर्दै सर्वोच्चका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलाशले उक्त फैसला गरेको हो । फैसलाको पूर्ण पाठ हालै मात्र सार्वजनिक गरिएको हो ।
सर्वोच्चको फैसलामा हाल बहाव क्षेत्र कायम भइसकेका बागमतीलगायत सबै सहायक नदीको हकमा वर्षात्मा हुने बाढीसमेतलाई दृष्टि गर्दै नदीको दुवै किनारामा कम्तीमा अर्को २० मीटरका दरले तटीय क्षेत्र कायम गरी सीमांकन गर्नुपर्ने उल्लेख छ । हाल शहरीकरण भई नसकेका र खुला कायम रहेका तटीय क्षेत्रमा संरक्षणका लागि निर्माण गरिने तटबन्ध, ढल वा बाटोबाहेक हाल विद्यमान भू–उपयोगलाई परिवर्तन गर्ने गरी अरू स्थायी संरचना निर्माण नगर्ने सर्वाेच्चको आदेशमा छ ।
सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आएपछि त्यसलाई कार्यान्वयन गर्न भन्दै काठमाडौं महानगरपालिकाले गत साउन २४ गते नदीकिनारमा थप २० मीटर छाडेर मात्रै संरचना बनाउन सूचना जारी गरेको थियो । यद्यपि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नयाँ मापदण्डअनुसार खोलाकिनारका घर नभत्किने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने बताए ।
‘तपाईंको नयाँ मापदण्डअन्तर्गत पर्ने घर कुनै भत्किने छैन, निश्चिन्त रहनुहोस् । भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले । ५० वर्ष पहिलेको तीनकुनेको मुआब्जा दिन नसक्ने सरकारले तपाईंलाई दिन नि सक्दैन भत्काउन नि सक्दैन,’ उनले भनेका छन्, ‘तपाईंका लागि हामी छँदै छौं । केन्द्र सरकारलाई दबाब दिनुहोस् नियम परिवर्तनका लागि ।’
मेयर बालेनले खोलाकिनारको मापदण्ड महानगरले नभई संघीय सरकारले नै बनाएको समेत स्पष्ट पारेका छन् । ‘खोलाको मापदण्ड र कानून आफै बनाउने, आफै सहभागी भएको परिषद्देखि न्यायाधीश आउने । सरकार आफ्नै, कानून बनाउने र संशोधन गर्ने अधिकार आफ्नै,’ उनले फेसबुकमा लेखेका छन्, ‘अनि, भएको कानून र फैसला कार्यान्वयन गर्दा दोषजति काठमाडौं महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौं ।’ सर्वोच्चको फैसलापछि सरकारदेखि दलहरूसम्मै पुनरवलोकनका लागि एकजुट भएका छन् । सत्तारूढ नेकपा (एमाले)ले सर्वोच्च अदालतले गरेको फैसलाको न्यायिक पुनरवलोकनको माग गर्दै आएको छ । यससम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरवलोकन गर्न एमालेले गत साता सदनमा समेत माग गरेको थियो ।
गतसाता नै सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमालेका शीर्षस्थ नेताहरूले भेट गरेका थिए । अदालतको फैसलाका कारण समस्या उत्पन्न भएको भन्दै समाधानका लागि दुईपक्षीय भेट भएको थियो । उक्त भेटमा पुनरवलोकनको पक्षमा देउवा पनि देखिएको भेटमा सहभागी एक उच्च नेताले आर्थिक अभियानलाई बताए ।
नेपाली कांग्रेसलाई समेत सर्वोच्चको उक्त फैसला चित्त बुझेको छैन । कांग्रेस सांसद तथा प्रतिनिधिसभा अर्थ समितिका सभापति सन्तोष चालिसे बागमतीको जलाधार नियन्त्रणका लागि सर्वोच्च अदालतको आदेशपछि ८० हजार परिवारको बिचल्ली हुन लागेको बताउँछन् । ‘२०६५ सालमा अधिकारसम्पन्न बागमती एकीकृत आयोजनाले २० मीटर अधिग्रहण गरिसकेको छ । थप २० मीटर अधिग्रहण गर्ने विषयले आज काठमाडौंका ८० हजार घरपरिवारको रुवाबासी भएको छ,’ उनले भने ।
उनका अनुसार अध्ययन नगरी फैसला आएको छ । उपत्यकाभरिका हजारौं मानिसले त्यही जग्गा राखेर बैंकबाट ऋण लिई घर बनाएका छन् । अहिले धितो परिवर्तन गर्न बैंकले निर्देशन दिएको छ । यसबारे सरकारको ध्यानाकर्षण हुनुपर्ने उनले बताए । ‘चाँडोभन्दा चाँडो यो फैसलामाथि सुनुवाइ (पुनरवलोकन) होस्,’ उनले भने, ‘बागमतीको जलाधार नियन्त्रण गर्ने धेरै उपाय छन्, साराको वास उठाएर गर्न पाइँदैन ।’ नेकपा (एकीकृत समाजवादी) ले काठमाडौं उपत्यकाभित्रका नदीकिनाराका जमीन खाली गराउने अदालतको फैसलाले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीका काठमाडौं, भक्तपुर, ललितपुरका जिल्ला अध्यक्षसहितका नेताहरूले आइतवार अध्यक्ष माधवकुमार नेपाललाई यसबारे ध्यानाकर्षण गराएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीहरू भने यस विषयमा खासै बोलेका छैनन् ।
यसैबीच सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंका प्रभावित स्थानीय आन्दोलनमा उत्रिएका छन् । सर्वोच्च अदालतको आदेशसँगै काठमाडौं महानगरले थप गरिएको २० मीटरमा कुनै पनि संरचना निर्माण गर्न रोक लगाएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । आइतवार गोकर्णेश्वर नगरपालिकाका स्थानीयले मापदण्डको विरोध गर्दै जोरपाटीमा प्रदर्शन गरे । सर्वोच्चको फैसला न्यायिक नभएका कारण प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ थियो ।
के थियो फैसला ?
हाल बहाव क्षेत्र कायम भइसकेका बागमतीलगायतका सबै सहायक नदीहरूको हकमा वर्षात्मा हुने बाढी समेतलाई दृष्टिगत गर्दै नदीको दुवै किनारामा कम्तीमा अर्को २० मीटरका दरले तटीय क्षेत्र कायम गरी सीमांकन गर्ने । बहाव र तटीय क्षेत्र कायम हुन बाँकी सहायक र उपसहायक नदीहरूको हकमा बहाव र तटीय क्षेत्रसमेतको सीमांकन गर्ने । हाल शहरीकरण भई नसकेका र खुला कायम रहेका तटीय क्षेत्रमा संरक्षणका लागि निर्माण गरिने तटबन्ध, ढल वा बाटोबाहेक हाल विद्यमान भू–उपयोगलाई परिवर्तन गर्ने गरी अरू स्थायी संरचना निर्माण नगर्ने । कुनै पनि स्थायी संरचनाको निर्माणपूर्व, संरक्षणको कार्ययोजना प्रतिकूल हुँदैन भन्ने कुरा यकीन गरेर मात्र बागमती सभ्यता एकीकृत विकास समितिले स्वीकृति र सहमति दिने व्यवस्था गर्ने । यस आदेशको कार्यान्वयनका लागि सम्बन्धित सबै स्थानीय तहहरूलाई जानकारी दिने ।