काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासमा रू. ६० लाख २२ हजार ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा रू. ९ लाख ३३ हजार धनात्मक भएको छ ।
चालू आवमा खुद ब्याज आम्दानीमा वृद्धि भएकाले कम्पनी नाफामा गएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ११८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ५९ लाख २७ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १ करोड २९ लाख पुगेको हो ।
त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवको पहिलो त्रैमासमा रू. ६० लाख २२ हजार ऋणात्मक रहेकोमा चालू आवमा सुधारिएर रू. १४ लाख ६६ हजार धनात्मक भएको छ ।
कम्पनीको चुक्ता पूँजी रू. १० करोड १४ लाख छ भने कम्पनीले पहिलो त्रैमाससम्ममा जगेडामा रू. २ करोड ४८ लाख सञ्चिति गरेको छ । त्यस्तै कम्पनीले रू. ९१ करोड ४५ लाख सापटी लिएर, रू. २७ करोड ५६ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ३१ करोडभन्दा बढी कर्जा लगानी गरेको हो ।
चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ६८, तरलता अनुपात ९ दशमलव ०४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२४ दशमलव ५४ छ ।