काठमाडौं । कोरोना महामारीपछि पर्यटन क्षेत्रमा आएको सुधारसँगै देशका होटेल तथा पर्यटनसम्बद्ध कम्पनीहरूले नाफा कमाएका छन् ।
धितोपत्रको दोस्रो बजारमा सूचीकृत ६ होटेल तथा पर्यटन क्षेत्रका कम्पनीमध्ये चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा ५ कम्पनीले नाफा बढाएका छन् । तीमध्ये दुई कम्पनीको नाफा झन्डै ४० प्रतिशतले बढेको छ । एउटा घाटामा रहे पनि त्यसको आकार घटाउन सफल भएको छ ।
कम्पनीहरूको अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पहिलो ९ महीनामा तारागाउँ रिजेन्सी होटेल्सले ३९ दशमलव ५४, चन्द्रागिरि हिल्सले ३८ दशमलव ८२, सोल्टी होटेलले ११ दशमलव शून्य ८, ओरियण्टल होटेल्सले ९ दशमलव ९१ र कालिन्चोक दर्शनले ६ दशमलव ९२ प्रतिशत खुद नाफा बढाएका हुन् ।
चालू आवको तेस्रो त्रैमाससम्ममा तारागाउँ रिजेन्सी होटेल्सले ३३ करोड ३२ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । यो नाफा गतवर्षको यसै अवधिमा २३ करोड ८८ लाख रुपैयाँभन्दा बढी थियो ।
नेपाल भित्रिने अन्तरराष्ट्रिय पर्यटकको संख्या बढेसँगै यस वर्ष होटेलहरूको अकुपेन्सी दर अघिल्लो वर्षको तुलनामा बढेका कारण नाफामा सुधार आएको तारागाउँ रिजेन्सी होटेल्सले जानकारी दिएको छ ।
आगामी दिनमा कम्पनीको कुल आय बढाउन अपनाउनुपर्ने सबै व्यावसायिक रणनीतिक संयन्त्रको समुचित सदुपयोग गर्दै होटेलको अकुपेन्सी बढाउने, उपलब्ध अत्याधुिनक प्रविधिका साधनको प्रयोगलगायत सबै उपाय अवलम्बन गरी आम्दानी बढाउने लक्ष्यसमेत उक्त कम्पनीले लिएको छ ।
त्यस्तै चन्द्रागिरि हिल्सले गतवर्षको तेस्रो त्रैमाससम्म ७ करोड ७७ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेकोमा यस वर्ष १० करोड ७९ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।
त्यसैगरी सोल्टी होटेलले गतवर्षको सोही अवधिमा ३७ करोड ११ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेकोमा यस वर्ष बढाएर ४१ करोड २३ लाख रुपैयाँभन्दा माथि पुर्याएको छ ।
ओरियण्टल होटेलले गतवर्षको ९ महीनामा ६ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेकोमा यस वर्ष त्यसलाई बढाएर ६ करोड ५९ लाख रुपैयाँभन्दा माथि पुर्याएको छ ।
कालिन्चोक दर्शनको खुद नाफा गतवर्ष २ करोड ३१ लाख रुपैयाँभन्दा माथि रहेकोमा यस वर्ष २ करोड ४७ लाख रुपैयाँ हाराहारी पुगेको छ ।
होटेल तथा पर्यटन क्षेत्रका यी ६ कम्पनीमध्ये तीनओटाले लामो समयदेखि लगानीकर्तालाई लाभांश वितरण गर्दै आएका छन् । तारागाउँ रिजेन्सी होटेल्स, सोल्टी होटेल्स र ओरियण्टल होटेल्सले यस वर्ष पनि लगानीकर्तालाई लाभांश वितरण गरेका छन् । अन्य क्षेत्रका धेरैजसो कम्पनीले यस वर्ष लगानीकर्ताको हात खाली बनाउँदा होटेल तथा पर्यटन क्षेत्रका यी कम्पनीले लाभांश वितरण गरेका हुन् ।
यस वर्ष सोल्टी होटेलले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि २६ दशमलव ५७ प्रतिशत नगद गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरण गरेको हो ।
त्यस्तै आव २०७५/७६ पछि लाभांश वितरण नगरेको ओरियण्टल होटेल्सले यस वर्ष करसमेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
तारागाउँ रिजेन्सी होटेल्सले भने ५ प्रतिशत बोनस शेयर र करसमेत ११ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको हो । पछिल्ला वर्ष प्रारम्भिक सार्वजनिक निष्कासन गरेका चन्द्रागिरि हिल्स, कालिन्चोक दर्शन र सिटी होटेल पनि विस्तारै लाभांश वितरण गर्न सक्ने क्षमताको कम्पनी बन्ने प्रयासमा छन् ।
देशमा विदेशी पर्यटक आगमनमा सुधारसँगै पर्यटन क्षेत्रका यी कम्पनीको कमाइ बढेको हो । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को अप्रिलसम्ममा ४ लाख १६ हजार ६९ विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जुन सन् २०२३ को सोही अवधिको भन्दा २७ दशमलव ४२ प्रतिशतले बढी हो ।
सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । कोरोनापछि सन् २०२३ मा पहिलोपल्ट विदेशी पर्यटकको संख्या १० लाख नाघेको हो । पर्यटक आगमनमा भएको सुधारका कारण चालू आवमा आवास तथा भोजन सेवाको वृद्धिदर २१ दशमलव ८४ प्रतिशत हुने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान रहेको छ ।
पर्यटक आगमनमा सुधार भए पनि धितोपत्रको दोस्रो बजारमा सूचीकृत सिटी होटेल भने खुद नोक्सानीमा छ । तर, उसले नोक्सानी भने घटाएको छ । तेस्रो त्रैमाससम्म सिटी होटेल १५ करोड ३७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । गतवर्ष यसै अवधिसम्ममा उक्त होटेल २१ करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो ।
२०८० जेठमा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरेको यस कम्पनीले आईपीओअघि चालू आव २०८०/८१ मा ९८ लाख ४९ हजार रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको थियो ।
कम्पनीले आफ्नो खर्च घटाउँदै नोक्सानी सुधारमा ध्यान दिएको सञ्चालक तिलक कोइराला बताउँछन् । कम्पनीले क्यासिनो सञ्चालनका लागि केही भाग भाडामा दिएर भाडाबापत आम्दानी गर्न थालेको कोइरालाले बताए ।
दुई सय व्यक्ति सहभागी हुन मिल्ने गरी ब्यांक्वेट हल विस्तारको कार्य अन्तिम चरणमा पुगेकाले उक्त ब्यांक्वेट निर्माण सम्पन्न भएपछि त्यसबापतको आम्दानी आगामी वर्षमा थप बढ्ने अपेक्षा उनको छ ।
उनका अनुसार हालको हायात प्लेस ब्रान्डलाई हायात सेन्ट्रिक ब्रान्डमा स्तरोन्नति गर्न हायात इन्टरनेशनल साउथ वेस्ट एशियासँग सम्झौता भइसकेको छ । स्तरोन्नतिको कार्य आगामी आवको पहिलो त्रैमाससम्म सम्पन्न गर्ने लक्ष्य कम्पनीले दिएको सञ्चालक कोइरालाले जानकारी दिए ।
होटेलले उपत्यकाको सांस्कृतिक अवस्था झल्किने गरी पूर्वाधार परिवर्तनको कार्यलाई समेत प्राथमिकतामा राखेर अघि बढेको कोइरालाले बताए । कम्पनीको ३ अर्ब रुपैयाँभन्दा बढी कर्जा छ । ‘तर, आम्दानीका विभिन्न आधार तयार गरिरहेको र अबको २ देखि ३ वर्षभित्र लगानीकर्तालाई प्रतिफल दिन सक्ने अवस्थामा पुग्ने विश्वास छ,’ सञ्चालक कोइरालाले भने ।