काठमाडौं । लगातार चार कारोबार दिन नेप्से परिसूचक घटेको छ । गत मंगलवारदेखि घट्न थालेको नेप्से यो साताको पहिलो कारोबार दिन सोमवार पनि घटेको छ । यस दिन नेप्से परिसूचक १७ दशमलव ०१ अंक घटेर बन्द भएको छ । पछिल्लो चार कारोबार दिनमा भने नेप्से परिसूचक ४१ दशमलव ९६ अंक घटेको छ ।
यस दिन नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । अघिल्ला कारोवार दिनमा दिनहुँ ४ अर्बभन्दा बढीको कारोबार भएकोमा सोमवार भने उक्त रकम २ अर्ब ४८ करोडमा झरेको हो ।
नयाँ सरकार गठनसँगै अर्थमन्त्रीमा नयाँ अनुहार आएपछि शेयर बजारमा उत्साह आउने आम अपेक्षाविपरीत बजार दिनहुँ ओरालो लागेको छ । नयाँ सरकार आए पनि बजार सुधारका लागि काम नगरेकाले लगानीकर्ता शेयर बजारप्रति आश्वस्त हुन नसकेकाले बजार घटेको हुनसक्ने जानकार बताउँछन् । यद्यपि उधारो आश्वासनले मात्र अब लगानीकर्ता विश्वस्त नहुने भएकाले तत्काल नीतिगत सुधार खाँचो भएको उनीहरूको भनाइ छ ।
सोमवार नेप्से परिसूचक २ हजार ३१ दशमलव ५५ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव २७ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ४६ प्रतिशत घटेको छ ।
३०४ धितोपत्रको ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार २३६ पटकमा रू. २ अर्ब ४८ करोड बरावरको शेयर कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये बोटर्लस नेपाल बालाजुको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १८ हजार २७६ दशमलव ५० पुगेको हो । शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा रहेको सर्वोत्तम सिमेन्टको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. ८१३ दशमलव ८० पुगेको छ ।
सोमवार किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९१८ मा झरेको छ ।
शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा रहेको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत घटेर रू. ४९० दशमलव १० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा गोर्खाज फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. २८ करोड ९० लाख बरावरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७२ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा शिवम सिमेन्ट्सको रू. १३ करोड ७८ लाख बराबरको भएको हो ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी २ दशमलव १९ प्रतिशत वृद्धि भएको छ भने लघुवित्त समूहको सूचक सबैभन्दा बढी २ दशमलव २५ प्रतिशत घटेको छ ।