काठमाडौं । एक दिनको करेक्सनपछि मंगलवार (आज) नेप्से परिसूचक ३५ दशमलव ५५ अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक २ हजार ६९६ दशमलव ६५ विन्दुमा पुगेको हो । तीव्र उतारचढाव देखिएको बजारमा अन्त्यमा खरीदकर्ता आकर्षित भएपछि नेप्से बढेको हो । आज नेप्से न्यून हुँदा २ हजार ६०९ विन्दुसम्म झरेको थियो ।
पछिल्लो समय शेयर बजारप्रति लगानीकर्ता सकारात्मक हुन थालेका छन् । भएको शेयर जोगाउने र सकेसम्म नयाँ थप्नैतिर अधिकांश लगानीकर्ता लागेपछि बजारमा माग पक्ष बलियो भएको छ । आपूर्तिभन्दा माग बढी भएपछि नेप्से बढेको हो ।
नेप्से पछिल्लो २० कारोबार दिनमा चार दिन मात्रै घटेको छ भने बाँकी सबै दिन बढेको छ । नेप्से इन्ट्राडेको करेक्सन र केही दिनको सामान्य करेक्सनसँगै बढेको छ ।
बजार बढ्न थालेसँगै नयाँ लगानीकर्ता पनि थपिँदा र पुरानाले लगानी बढाउँदा कारोबार बढेको जानकार बताउँछन् । यस्तै, बैंकहरूले सस्तो ब्याजदरमा शेयर कर्जा दिएपछि कर्जा लिएर शेयरमा लगानी गर्नेहरू बढ्दा कारोबार रकम वृद्धि भएको उनीहरूको भनाइ छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६७ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव १७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७६ प्रतिशत वृद्धि भएको छ ।
आज ३२९ धितोपत्रको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर २ लाख ६ हजार ६४३ पटकमा रू. १७ अर्ब २६ करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये चार धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो ।
मंगलवार एशियन हाइड्रोपावर कम्पनीका शेयरधनीले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९२ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा गणपति लघुवित्त वित्तीय संस्था छ । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ११ प्रतिशत घटेर रू. १ हजार ८९१ मा कायम भएको छ ।
आज शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ६० करोड १० लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६९५ दशमलव ३० पुगेको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट छ । कम्पनीको रू. ३७ करोड ६७ लाख बराबरको कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका १३ समूहगत सूचकमध्ये चार समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी ५ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ भने बैंकिङ्ग समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ७६ प्रतिशत घटेको छ ।