काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीको बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत ‘बाल अमृत–४’ सावधिक बीमालेख प्रस्तुत गरेको छ । जुम मिटिङमार्फत जोडिएका कम्पनीका सबै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारी, वरिष्ठ अभिकर्ताका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुख सम्मिलित एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बीमालेखको औपचारिक शुरुआत गरेका हुन् । विगतमा पनि अभिकर्ता तथा बीमितले धेरै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढी परिष्कृत गरी बाल अमृत सावधिक बीमालेख–४ योजना प्रस्तुत गर्न पाउँदा उत्साहित भएको बाल बच्चाको सुमधुर भविष्यसँग सम्बन्धित यो योजना कम्पनीकै एक अब्बल योजना रहेको उनले बताए ।
यस बीमालेख योजनाका विशेषताका सम्बन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रस्ट्याउँदैै बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महीना (३० दिन) र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान रहेको बताए । यस बीमालेखमा प्रस्तावकको रूपमा बुवा, आमा वा कानूनी संरक्षक हुनुपर्ने बताइएको छ । बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयस्रोतको आधारमा ५० लाख रुपैयाँसम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको बताइएको छ ।
बीमा शुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा बुझाउन सकिने व्यवस्था गरेको बताइएको छ । अधिकतम बीमा समाप्ति उमेर ७० वर्ष रहेको यस योजनामा चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छूट लगायतका अन्य सुविधा पनि रहेको बताइएको छ ।