भीमफेदी । राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रुवाहक सवारीसाधन दुर्घटना हुँदा ९ जना घाइते भएका छन् भने ६ जना सिकिस्त छन् ।
मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन आज विहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का सिकिस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा ५० वर्षका सूर्य अधिकारी र १४ वर्षका कुमार तामाङ, राक्सिराङ गाउँपालिका–९ निवासी २८ वर्षका सुजन तामाङलाई भने सामान्य चोट लागेको छ । दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी कान्द्राङबाट गएको प्रहरी सहायक निरीक्षक भरतकुमार खड्का नेतृत्वको टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरेको थियो । घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ । रासस