काठमाडौं । सिद्धार्थ आर्ट ग्यालरीकी संस्थापक सञ्चालक संगीता थापा ‘प्रोफेशनल वुमन’ अवार्डबाट सम्मानित भएकी छन् । न्यू बिजनेश एज लिमिटेडको आयोजनामा भएको ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२५’ मा थापालाई सम्मानित गरिएको हो ।
चित्रकला व्यवसायमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहेकी थापा सिद्धार्थ आर्ट ग्यालरीको साथसाथै सिद्धार्थ आर्टस् फाउन्डेसनका र काठमाडौं अन्तरराष्ट्रिय कला महोत्सवकी संस्थापक सञ्चालक हुन् ।
सन् १९८७ मा प्रख्यात कलाकार शशिकला तिवारीसँग मिलेर सिद्धार्थ आर्ट ग्यालरी स्थापना गरेकी उनले नेपाली र अन्तरराष्ट्रिय कलाकारहरूको ६०० भन्दा बढी प्रदर्शनी गरेकी छन् ।
चित्रकलाको माध्यमवाट नेपाली संस्कृतिलाई प्रवर्द्धन गर्दै आएकी थापाले सन् २००९ देखि हरेक तीन वर्षमा नेपालको प्रमुख कला कार्यक्रम 'द काठमाडौं इन्टरनेशनल आर्टस् फेस्टिवल' गर्दै आएकी छन् ।
थापाले सन् २०२३ मा राष्ट्रपतिबाट ‘कला सम्वर्द्धक र सोही वर्ष नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट कला प्रवर्द्धक पुरस्कारसमेत प्राप्त गरेकी छन् ।