काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आगामी साउन २१ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’का लागि स्टल बुकिङ खुला गरिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्स्पोको लागि यही वैशाख २२ देखि स्टल बुकिङ खुला गरिएको हो । स्टल लिन चाहने इच्छुक व्यक्ति र कम्पनीहरूले यही वैशाख २९ गतेसम्म आवेदन दिन सक्ने नाइमाले जानकारी दिएको छ ।
उक्त एक्स्पोका लागि स्टलको बाँडफाँट गोलप्रथाबाट गरिने छ ।
प्रदर्शनीले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्तामा ऊर्जा प्रदान गर्ने नाइमाको विश्वास छ ।
नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले मोबिलिटी एक्स्पोले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने बताइन् ।
साथै नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीहरूलाई एउटै ठाउँमा सहभागी गराई अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गर्ने विश्वास आयोजकको छ ।
‘नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ,’ उनले भनिन् ‘हामी हाम्रा सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न काम गरिरहेका छौं र प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई एउटा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौं ।’