भारतले पाकिस्तान प्रशासित कश्मीरमा आज (बुधवार) सैन्य कारबाही शुरु गरेको छ ।
'अपरेशन सिन्दूर' सैन्य कारबाहीअन्तर्गत भारतले पाकिस्तानमा रहेका आतंकवादीलक्षित ९ ठाउँमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयले पाकिस्तानका ती सबै ठाउँहरूबाट भारतमाथि आतंकवादी आक्रमणहरू गर्न योजना र निर्देशन भइरहेको जनाएको छ ।
भारतीय रक्षा मन्त्रालयका अनुसार अहिले हवाई सैन्य कारबाही गरिएका पाकिस्तानी स्थलबाटै प्रशिक्षित आतंकवादीहरूले गत महिना भारत प्रशासित कश्मीरमा २६ जना हिन्दू पर्यटकहरूलाई गोली हानी हत्या गरेका थिए ।
पाकिस्तानले भारतीय सैन्य आक्रमणमा ९ जना मारिएको र ५ वटा भारतीय लडाकू विमान खसालेको दावी गरेको छ । पाकिस्तानले आक्रमणमा ३५ जना घाइते भएको र २ जना हराइरहेको जनाएको छ ।
भारतीय रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले पाकिस्तानी भूभागमा रहेका आतंकवादी समूह जैश-ए-मोहम्मद र लश्कर-ए-तोइबाका मुख्यालयलाई सैन्य कारबाहीको निशाना बनाइएको जनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतीय सैन्य कारबाहीलाई युद्धको उक्साहट भन्दै कडा निन्दा गरेका छन् र यसको सशक्त प्रत्युत्तर दिने चेतावनीसमेत भारतलाई दिएका छन् ।
संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । राष्ट्रसंघले भनेको छ, "दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त भयानक हुन सक्छ ।"
पाकिस्तानका अनुसार भारतीय मिसाइलहरू प्रहार गरिएका थिए । पाकिस्तानका सैनिक प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले ५ भारतीय लडाकू विमान खसालेको तर भारतले त्यसको पुष्टि नगरेको उल्लेख गरेको छ ।
पाकिस्तानी सैन्य प्रवक्ता अहमद शरिफ चौधरीले भने‚ "ती लडाकू विमान पाकिस्तानको प्रतिरक्षामा खसालेका हौँ र पाकिस्तान युद्धका मामिलामा अत्यन्त संवेदनशील भएकाले प्रतिरक्षामा उत्रिएका हौँ । तर पाकिस्तान आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाका लागि सबै प्रकारका कदम चाल्न तत्पर छ ।"
यसबीच भारतीय सेनाले भारत प्रशासित कश्मीरको सीमामा पाकिस्तानी सेनाले गरेको आक्रमणमा ३ जना भारतीय मारिएको जनाएको छ ।
भारतीय टेलिभिजनहरूले पाकिस्तान प्रशासित कश्मीरको विभिन्न ठाउँमा विष्फोट भएको‚ विष्फोट भएका स्थानमा आगो लागेको‚ धुँवाका मुस्लाहरू निस्केको र मानिसहरु भाग्दै गरेका दृश्यहरू प्रशारण गरेका छन् । एजेन्सीको सहयोगमा