वाशिङ्टन (अमेरिका) । यो वर्ष (सन् २०२५)को पहिलो त्रैमासमा अमेरिकाको अर्थतन्त्रमा संकुचन देखिएको छ ।
पहिलो तीन महीनामा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक ०.३ प्रतिशतले घटेको अमेरिकी वाणिज्य विभागले जनाएको छ ।
ब्रिफिङ डट कम अनुसार अर्थतन्त्रमा देखिएको संकुचन विश्लेषकको पूर्वानुमानभन्दा विपरीत हो । विश्लेषकहरूले यो वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा ०.४ प्रतिशतको वृद्धि हुने अनुमान गरेका थिए ।
सन् २०२४ को अन्तिम त्रैमासिकमा भने अर्थतन्त्र २.४ प्रतिशतले वृद्धि भएको थियो ।
गत जनवरी २० मा राष्ट्रपतिको पदभार गरेका ट्रम्पको भन्सार नीतिले अर्थतन्त्रमा असर परेको देखिएको छ । ट्रम्पले भन्सार शुल्क लागू गर्नुअघि आयातमा भएको तीव्र वृद्धिका कारण अर्थतन्त्रमा गिरावट आएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
वाणिज्य विभागको वक्तव्यमा पनि अर्थतन्त्रमा गिरावटको एक कारण आयातको वृद्धिदर रहेको उल्लेख छ । ‘पहिलो त्रैमासिकमा वास्तविक जीडीपीमा आएको गिरावटको मुख्य कारण आयातको वृद्धिदर, उपभोक्ता खर्चमा मन्दी र सरकारी खर्चमा गिरावट हो,’ वाणिज्य विभागको वक्तव्यमा भनिएको छ ।
यो समाचार सार्वजनिक भएसँगै अमेरिकी वित्तीय बजारमा नकारात्मक असर देखिएको छ । वाल स्ट्रिट खुल्नुअघि नै फ्युचर्स सूचकहरू तल झरेका छन् ।
जीडीपीको तथ्यांक सार्वजनिक भएपछि डेमोक्रेट सिनेटर एलिजाबेथ वारेनले भनिन्, ‘राष्ट्रपति ट्रम्पको १०० दिनमै ल्याइएका भन्सार नीतिहरूले हाम्रो अर्थतन्त्र संकुचित हुँदैछ, व्यवसायहरूले ‘भन्सार डूम्सडे’ को डरले आयातको भण्डारण गरेका छन् ।’
ट्रम्पले गत मार्चमा प्रमुख व्यापारिक साझेदारहरूमाथि अप्रिलदेखि व्यापक भन्सार शुल्क लगाउने योजना घोषणा गरेका थिए । यस घोषणापछि वित्तीय बजारमा भारी गिरावट आएको थियो, जसले कोरोना भाइरस महामारीपछिको उच्च अस्थिरता निम्त्याएको अन्तरराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।
वाणिज्य विभाग अनुसार, सन् २०२४ मा अमेरिकी अर्थतन्त्र २.८ प्रतिशतले वृद्धि भएको थियो । एजेन्सीको सहयोगमा