सन् २०२५ को जनवरीदेखि मार्च महीनासम्म अमेरिकी वैज्ञानिकहरूले विदेशमा रोजगारको खोजी गर्न थालेका छन् । नेचर करियर्सको तथ्यांकअनुसार वैज्ञानिकहरू राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा विज्ञानमा गरिएको बजेट कटौतीको असरका कारण वैदेशिक अवसरतर्फ आकर्षित हुन थालेका छन् । नेचर करियर्सका अनुसार, २०२५ को पहिलो ३ महीनामा अमेरिकी वैज्ञानिकहरूद्वारा विदेशमा दिएको जागीर आवेदन २०२४ को सोही अवधिको तुलनामा ३२ प्रतिशतले बढेको छ । यस्तै, अमेरिकी प्रयोगकर्ताहरूले विदेशको जागीर खोज्ने दर पनि ३५ प्रतिशतले बढेको छ । मार्च महीनामा मात्र विज्ञान क्षेत्रमा कटौती तीव्र बनेपछि विदेशको जागीर खोज्ने अमेरिकी प्रयोगकर्ताको संख्या अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशतले वृद्धि भयो ।
गत महीनामा एचआईभी र एड्ससँग सम्बद्ध २०० भन्दा बढी संघीय अनुदान अचानक समाप्त गरिए । यस्तै, अमेरिका राष्ट्रिय स्वास्थ्य संस्थानबाट दिइने कोभिड–१९ सम्बन्धी अनुसन्धान अनुदानमा पनि कटौती गरिएको छ । साथै, न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयलाई दिइने अनुसन्धान अनुदानमा ४० करोड अमेरिकी डलर कटौती गरिएको छ ।
स्प्रिङ्गर नेचरअन्तर्गत ग्लोबल ट्यालेन्ट सोलुसन्स टोलीका प्रमुख जेम्स रिचाड्र्स भन्छन्, ‘अमेरिकाबाट विदेशतर्फ बढ्दो आकर्षण र अमेरिकाभित्र आवेदनमा आएको कमी पूर्णतया अभूतपूर्व हो ।’ यो तथ्यांक नेचर पत्रकारहरूसँग साझा गरिएको हो तर अप्रशोधित संख्याको सट्टा केवल प्रतिशत वृद्धि मात्र सार्वजनिक गर्न दिइएको छ किनकि ती व्यावसायिक रूपमा संवेदनशील जानकारी मानिन्छन् ।
यो तथ्यांक प्रकाशनअघि नेचरको समाचार टोलीले गरेको एक अलग सर्वेक्षणमा पनि अमेरिकी वैज्ञानिकहरूमध्ये ७५ प्रतिशतले आफू विदेश जान इच्छुक रहेको बताएका थिए । क्यानडामा अमेरिकी वैज्ञानिकहरूको आवेदन २०२५ को पहिलो त्रैमासिकमा २०२४ को सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढेको छ । यता क्यानडेली वैज्ञानिकहरूकोे अमेरिका जाने आवेदन १३ प्रतिशतले घटेको छ ।
भौतिक रसायनविज्ञ भ्यालेरी नियमान पनि त्यस्ता वैज्ञानिकमध्ये एक हुन्, जो हालै क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्वविद्यालयबाट स्वीट्जरल्यान्डको बर्न विश्वविद्यालयमा पोस्टडक्टरेटका लागि गएकी छन् । उनले भनिन्, ‘यहाँ अमेरिकामा हामीलाई थाहा छैन हाम्रो पोस्टडक्टरेट कति समय चल्ने हो । हामी फेलोसिपका लागि आवेदन दिन सक्दैनौं किनकि ती कार्यक्रम अस्तित्वमै रहने नरहने निश्चित छैन ।’
२५ मार्चमा एक्सम पोस्ट गर्दै कोलम्बिया विश्वविद्यालयका बायोस्टाटिस्टिसियन सियाओ वुले लेखे, ‘मेरो पहिलो अनुदान ३ महीनामै रद्द गरियो ।’ उनको अनुसन्धान जलवायु परिवर्तनका कारण स्वास्थ्यमा पर्ने असरलाई कम गर्न तथ्यांकमा आधारित प्रमाण प्रयोगमा आधारित छ ।
वु हाल अन्य रोजगारीको खोजीमा छैनन् तर निकट भविष्यमा आफू बाध्य हुनसक्ने बताउँछन् । उनी भन्छन्, ‘अनुदानविना मेरो करियरको स्थायित्व र भविष्य दुवै संकटमा छ । यो वैकल्पिक अवसर खोज्ने कुरामात्र होइन, अमेरिकन प्राज्ञिक संस्थाबाट हामीलाई जबर्जस्ती निकालिने अवस्था हो ।’
कतिपय यूरोपेली विश्वविद्यालयले यो पलायनलाई अवसरका रूपमा लिएर अमेरिकी वैज्ञानिकहरूलाई आकर्षित गर्न नयाँ कार्यक्रमहरू शुरू गरेका छन् । उदाहरणका लागि, मार्चको शुरूमा फ्रान्सको एआएएक्स मार्से विश्वविद्यालयले ‘सेफ प्लेस फर साइन्स’ कार्यक्रम घोषणा गर्यो । यस कार्यक्रमअन्तर्गत जलवायु, स्वास्थ्य, वातावरण र सामाजिक विज्ञानमा काम गर्ने १५ अनुसन्धानकर्ताका लागि लगभग १ दशमलव ७ करोड अमेरिकी डलरको बजेट छुट्याइएको छ ।
विश्वविद्यालयका प्रवक्ता क्लारा बुफीका अनुसार आवेदन खुला भएपछि जम्मा २९८ आवेदन प्राप्त भए । लगभग ४०० जानकारीको माग आएको थियो । तीमध्ये ७० प्रतिशत अमेरिकी वैज्ञानिकहरू थिए जो आफ्नो क्षेत्रका विशेषज्ञहरू थिए । यस वर्ष २० जनालाई छनोट गरिनेछ । विश्वविद्यालयका अध्यक्ष एरिक बर्टनले भने, ‘अमेरिकी अनुसन्धानमाथि भइरहेको कुरा निकै दु:खद छन् । हामीले सोचेका थियौं, वैज्ञानिकहरूले स्वतन्त्र रूपमा अनुसन्धान गर्न सक्ने एक स्रोत फ्रान्सको दक्षिण भागमा पनि हुनुपर्छ ।’ बर्टनको यो सन्देश अमेरिकी वैज्ञानिकहरूलाई मन परिरहेको देखिन्छ । मार्च महीनामा मात्रै अमेरिकी वैज्ञानिकहरूको यूरोपेली जागीरका लागि आवेदन ३२ प्रतिशतले बढेको छ । जागीर खोजीको दर ४१ प्रतिशतले बढेको छ । यसैबीच यूरोपेली वैज्ञानिकहरूले अमेरिकी संस्थामा आवेदन दिने दर ४१ प्रतिशतले घटेको छ ।
जर्मनीका म्याक्स प्लाङ्क संस्थाहरूमा कार्यरत केही अमेरिकी अनुसन्धानकर्ताले संस्थालाई जर्मनीमा अझै बस्न अनुमति दिन आग्रह गरेका छन् । संस्थाका प्रवक्ता क्रिस्टिना बेकका अनुसार एशियाली मुलुकबाट पनि आवेदन बढिरहेको छ । ‘वैज्ञानिकहरूले आफैलाई फेरि सन्तुलित गर्दै यूरोपलाई प्राथमिकता दिन थालेका हुन् जस्तो देखिन्छ,’ उनले भनिन् । ‘हामी अमेरिकामा वैज्ञानिक स्वतन्त्रता र संस्थागत स्वायत्ततामाथि भइरहेको हस्तक्षेपलाई लिएर निकै चिन्तित छौं ।’
७ अप्रिलमा म्याक्स प्लाङ्क सोसाइटीका अध्यक्ष प्याट्रिक क्रामरले म्याक्स प्लाङ्क ट्रान्स्एटलान्टिक प्रोग्रामको घोषणा गरे । यसअन्तर्गत अमेरिकी संस्थासँग सहकार्यमा अनुसन्धान केन्द्रहरू खोलिने, थप पोस्टडक्रटे तथा जुनियर अनुसन्धानकर्ताहरूका लागि स्थान खुलाइने र अमेरिकामा काम गर्न नसक्ने केही उत्कृष्ट अनुसन्धानकर्तालाई निर्देशक पद दिइनेछ । अमेरिका बाहिर बस्ने वैज्ञानिकहरूले पनि अमेरिकाबाहेकका देशहरूमा आवेदन दिने दर १३ प्रतिशतले बढेको छ । तर, अमेरिकी वैज्ञानिकहरूले यूरोप जाने सोचिरहेका छन् भन्दैमा उनीहरूले सजिलै काम पाइहाल्ने अपेक्षा गर्नु हुँदैन । खुला अवसर सीमित छन् र प्रतिस्पर्धा तीव्र छ । अमेरिकाको विज्ञान र अनुसन्धान क्षेत्र गम्भीर संकटमा पर्न थालेको छ । ट्रम्प प्रशासनद्वारा विज्ञानमा गरिएको बजेट कटौती, अनुदानको स्थायित्व अभाव र संस्थागत दबाबले वैज्ञानिक समुदायलाई अस्थिर बनाएको छ ।
(नेचरमा प्रकाशित लेखको नेपाली रूपान्तर)