मान्छेको प्रगतिप्रतिको निरन्तर प्रयासले पूर्वाधार विकासमा अद्भुत उपलब्धिहरू प्राप्त भएको छ । गगनचुम्बी भवनदेखि विशाल बाँधहरूसम्म, प्राकृतिक संसारलाई परिवर्तन गर्ने हाम्रो क्षमता असाधारण रहेको छ । तर, यस्ता भव्य संरचनासँगै त्यस्ता अप्रत्याशित असरहरू पनि आउँछन्, जसले उनीहरूको नजिकको वातावरण मात्र होइन, पूरै ग्रहमा प्रभाव पार्न सक्छ ।
आजको विश्वले त्यस्ता विशाल पूर्वाधारहरूको निर्माण देखिरहेको छ, जसले गुरुत्वाकर्षण र इन्जिनीयरिङका सीमाहरूलाई चुनौती दिन्छन् । दुबईको बुर्ज खलिफा, साङ्घाई टावर र साउदी अरेबियाको क्लक टावरजस्ता संरचना हाम्रो भव्यता प्राप्त गर्ने अतुलनीय प्रयासका प्रतीक हुन् । तर, यी सुन्दर संरचनाले एक गम्भीर प्रश्न उठाएका छन्, यी विशाल निर्माणले हाम्रो ग्रहमा कस्तो प्रभाव पारिरहेका छन् ? यी सबै संरचनामध्ये चीनको थ्री गर्जेज ड्याम अग्रपंक्तिमा पर्छ । हुपेई प्रान्तमा अवस्थित यो संसारकै सबैभन्दा ठूलो जलविद्युत् बाँध हो, जसले चीनको प्राकृतिक स्रोत उपयोग गर्ने र इन्जिनीयरिङ क्षमताको प्रदर्शन गर्ने महत्त्वाकांक्षालाई प्रतिबिम्बित गर्छ ।
यो बाँधको प्रमुख उद्देश्य बिजुली उत्पादन भए पनि यसको महत्त्व त्यतिमा सीमित छैन । यसको विशाल आकार र भारले पृथ्वीको घुमाइमा प्रभाव पार्ने सम्भावना भएको विषयमा वैज्ञानिकहरूले लामो समयदेखि चर्चा गर्दै आएका छन् । नवीकरणीय ऊर्जा उत्पादनमा चीन विश्वकै अग्रणी देश हो । थ्री गर्जेज ड्यामले चीनको कुल ऊर्जाको केवल ३ प्रतिशतमात्र आपूर्ति गर्छ तर यसको प्रभाव ऊर्जा उत्पादनभन्दा बढी छ ।
नासाले सन् २००५ मा प्रकाशित गरेको एक प्रतिवेदनअनुसार यस्तो ठूलो संरचनाले पृथ्वीको घुमाइमा परिवर्तन ल्याउन सक्छ । जब कुनै ठूलो परिमाणमा वस्तुहरूको स्थानान्तरण हुन्छ वा भूकम्प वा विशाल जलाशय भरिन्छ त्यसले पृथ्वीको घुमाइमा प्रभाव पार्न सक्छ । नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका डा. बेन्जामिन फोङ चाओले स्पष्ट पारेका छन् कि गाडी चलाउनेजस्ता सामान्य क्रियाकलापले पनि पृथ्वीमा अत्यन्त सानो मात्रामा प्रभाव पार्छन् । यस हिसाबले हेर्दा थ्री गर्जेज ड्यामजस्तो विशाल जलाशयले पृथ्वीको प्राकृतिक गतिशीलतामा सूक्ष्म तर महत्त्वपूर्ण प्रभाव पार्न सक्छ, जसले हामीलाई इन्जिनीयरिङ परियोजनाहरूका सम्भावित परिणामहरूको पुनर्विचार गर्न बाध्य बनाउँछ ।
यस बाँधको प्रभाव बुझ्नका लागि एक आइस स्केटरले आफ्नो हातको स्थिति परिवर्तन गरेर कसरी घुमाइको गति बदल्छ भन्ने कल्पना गर्नुहोस् । २००४ मा भएको भूकम्पले पृथ्वीको दिनलाई २ दशमलव ६८ माइक्रोसेकेन्डले छोट्याएको थियो । थ्री गर्जेज ड्यामको जलाशय पूरै भरिँदा लगभग १० दशमलव ६ ट्रिलियन ग्यालन (४० घन किलोमीटर) पानी समेटिन्छ । यस जलभारले पृथ्वीको दिनको लम्बाइ शून्य दशमलव शून्य ६ माइक्रोसेकेन्डले बढाउनेछ र पृथ्वीको आकारमा पनि सानो परिवर्तन ल्याउनेछ । अर्थात्, भूमध्यरेखामा पृथ्वी अझ गोलो र ध्रुवीय क्षेत्रमा थोरै चेप्टो हुनेछ । यस्ता परिवर्तन सानो देखिए पनि तिनीहरूले पृथ्वीको प्रणालीहरू कति संवेदनशील छन् भन्ने देखाउँछन् । मानव गतिविधिहरूको संयुक्त प्रभावले पृथ्वीको घुमाइ, मौसम प्रणाली र समग्र स्थायित्वमा ठूलो असर पार्न सक्छ । हामीले प्राकृतिक स्रोतहरूको अत्यधिक उपयोग जारी राखिरहँदा यस्ता सूक्ष्म तर महत्त्वपूर्ण पक्षहरूको गहिरो अध्ययन आवश्यक हुँदै गएको छ । मानव निर्मित संरचनाहरूले पृथ्वीमा पार्ने प्रभावप्रति चिन्ता बढ्दो छ । हामी झनै ठूलो र भारी संरचनाहरू निर्माण गर्नेतर्फ अग्रसर भइरहँदा त्यसका सम्भावित परिणामहरू बुझ्नु अत्यन्त जरुरी छ । थ्री गर्जेज ड्यामजस्ता पूर्वाधार मानव जातिले पृथ्वीमा कस्तो प्रभाव पार्न सक्छ भन्ने कुराको स्पष्ट उदाहरण हुन् ।
अन्तत: हामीले आफैलाई सोध्नुपर्छ, के हामी यस्ता प्राविधिक उपलब्धिहरूसँगै आउने जिम्मेवारीहरू सम्हाल्न तयार छौं ? भविष्यमा नयाँ विकास परियोजनाहरू अगाडि बढाउँदा एउटा ठूलो प्रश्न उठ्छ, के हामी प्रगतिको खोजी र पृथ्वीको स्थायित्वको संरक्षणबीच सन्तुलन कायम गर्न सक्छौं ? नासाका वैज्ञानिक डा. बेन्जामिन फोङ चाओका अनुसार थ्री गर्जेज ड्यामको जलाशयमा ४० अर्ब घनमीटर पानी सञ्चित हुँदा पृथ्वीको घुमाइमा सूक्ष्म परिवर्तन आएको छ । यसले पृथ्वीको घुमाइको गति शून्य दशमलव शून्य ६ माइक्रोसेकेन्डले ढिलो बनाएको छ जुन सानो भए पनि मानव निर्मित संरचनाबाट भएको महत्त्वपूर्ण प्रभाव हो । थ्री गर्जेज ड्यामको निर्माणपछि याङ्त्जे नदीको वरपरको क्षेत्रमा वर्षा र सतह तापक्रममा परिवर्तन देखिएको छ । नासाको एक अध्ययनअनुसार डाबा र किनलिङ पहाडहरूबीचको क्षेत्रमा वर्षा बढेको छ र दिनको तापक्रममा करीब शून्य दशमलव ६७ डिग्री सेल्सियसले कमी आएको छ ।
ड्यामको निर्माणले याङ्त्जे नदीको पारिस्थितिकीमा गम्भीर असर पारेको छ । विशेषगरी, चिनियाँ नदी डल्फिन (बाइजी) लोप भएको छ र याङ्त्जे स्टर्जनजस्ता माछाहरू संकटमा परेका छन् । ड्यामको जलाशयमा पानीको स्तर बढ्दा वरपरको क्षेत्रमा भूस्खलनको जोखिम बढेको छ । २००९ मा दुई ठूला भूस्खलन भएका थिए जसले ड्यामको प्रभाव क्षेत्रको सतहमा उल्लेखनीय परिवर्तन ल्याएको छ ।
(सस्टेनेबिलिटी टाइम्समा प्रकाशित सामग्रीबाट अनूदित)