काठमाडौं । गत चैत १२ गते आईपीओ बाँडफाँट गरेको ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले संस्थापक तर्फको ४२ लाख कित्ता र सर्वसाधारण तर्फको १८ लाख कित्ता गरी कुल ६० लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको हो ।
ओएमपिएल स्टक संकेतबाट कम्पनीको शेयर सूचीकृत भएको छ । सूचीकृत भएको भोलिपल्टदेखि कारोबारयोग्य हुने यी शेयर बिहीवार सार्वजनिक बिदा परेकाले आगामी आइतवारदेखि कारोबारयोग्य हुनेछन् ।
आइतवार स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार भए कम्पनीको शेयर कारोबार नियमित सेसनमा अघि बढ्नेछ । कम्पनीको संस्थापकतर्फको र कर्मचारीको शेयर आगामी तीन वर्षसम्म 'लक-इन'मा रहनेछ भने सर्वसाधारणतर्फको पनि सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर आगामी ६ महीनासम्म 'लक-इन'मा रहनेछ ।
नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि न्यूनतम ९० रुपैयाँ १७ पैसादेखि अधिकतम २७० रुपैयाँ ५१ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ १७ पैसा रहेको छ । नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोकेको हो ।
ओम मेगाश्री फर्मास्यूटिकल्स औषधि उत्पादन तथा वितरणसम्बन्धी कार्य गर्ने कम्पनी हो । स्थानीय स्रोत र साधानको उपयोग गर्ने गरी यो कम्पनी स्थापना भएको हो । गत आर्थिक वर्ष ०८०/८१ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी ४ करोड १३ लाख ६ हजार रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार ३ करोड ७१ लाख ७६ हजार रुपैयाँ सञ्चित नोक्सानीमा रहेको कम्पनीले चालू आर्थिक वर्षको अन्त्यसम्म सञ्चित नोक्सानी घटाएर १ करोड १३ लाख ५२ हजार रुपैयाँ कायम गर्ने प्रक्षेपण गरेको छ ।