काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वैशाख १६ गते कम्पनीलाई सर्वसाधारणमा ४९ प्रतिशत आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । हाल कम्पनीमा संस्थापकतर्फ ५१ प्रतिशतले हुने ४६ करोड ३६ लाख ४१ हजार ७०० रुपैयाँ चुक्तापूँजी कायम छ ।
सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ कायम हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डको अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयमा आईपीओ निष्कासनपछि सर्वसाधारणमा निष्कासन गर्नेछ ।
यस कम्पनीले गोरखा जिल्लामा ४ दशमलव ५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ फागुन २७ गतेदेखि नै विद्युत उत्पादन गर्दै आएको छ । यस आयोजनाको अवधि २१११ पुस २८ गते सकिएपछि सरकारी स्वामित्वमा हस्तान्तरण हुनेछ ।