काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म ४३ करोड २१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले २५ करोड २९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीका खुद नाफा करिब ७१ प्रतिशत बढेको हो ।
यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज रकम करिब ५८ प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म १६ करोड ४० लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष २५ करोड ९० लाख रूपैयाँभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ३६ करोड १६ लाख रूपैयाँभन्दा बढी रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ८२ लाख रूपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोष रकम १ अर्ब ४२ करोड रूपैयाँभन्दा बढी कायम छ ।
तेस्रो त्रैमाससम्म १० अर्ब ६० करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ११ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । यस अवधिसम्म कम्पनीले २५ अर्ब १ करोड ९८ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ८ दशमलव २५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ८ दशमलव ६६ प्रतिशत कायम भएको छ ।
यस वर्ष कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत वर्ष १९ रूपैयाँ ७७ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी यस वर्ष ३० रूपैयाँ ८४ पैसा कायम भएको हो । प्रतिशेयर नेटवर्थ भने गत वर्ष १९६ रूपैयाँ ५१ पैसा रहेकोमा यस वर्ष १९५ रूपैयाँ ५१ पैसा रहेको हो ।