काठमाडौं । स्यार्पु पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने लगायतका प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । सभा रुकुमको मुसिकोटस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे गर्ने तयारी कम्पनीले गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
आईपीओ निष्कासन गर्ने र आईपीओबाट संकलित पूँजीको उपयोगका सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन र यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी समेत सभाले सञ्चालक समितिलाई प्रदान गर्नेछ ।
यो कम्पनी नेपालको रुकुम पश्चिम जिल्लाका स्थानीय सरकारहरूले प्रवर्द्धन गरेको कम्पनी हो । यस कम्पनीले ३ दशमलव ३ मेगावाट क्षमताको स्यार्पु साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
यस कम्पनीअन्तर्गत स्यार्पु कृषि कम्पनी लिमिटेड स्थापना गरिएको छ । उक्त कम्पनीले रुकुम जिल्लामा दूध र दुग्धजन्य पदार्थ उत्पादन गर्न दुग्ध उद्योग समेत सञ्चालन गर्ने भएको छ ।
प्रतिदिन ४० हजार लिटर दूध संकलन गर्ने र राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारीकरणका लागि उत्पादन भिन्नताका साथ अघि बढ्ने योजना कम्पनीको रहेको छ ।