काठमाडौं । हायर पर्चेज कम्पनीमार्फत पनि व्यक्तिगत सवारी साधन खरीद गर्नका लागि मूल्यको ६० प्रतिशत मात्र कर्जा पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (पाँचौं संशोधन, २०८२) जारी गर्दै सवारी साधनको ऋण मूल्यको अनुपात (लोन टु भ्यालु रेसियो) घटाएको हो ।
यसअघि हायर पर्चेज कम्पनीहरूले सवारीसाधन खरीदमा ८० प्रतिशतसम्म ऋण दिँदै आएका थिए । अब भने सबै प्रयोजनका विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधनमा मूल्यको ६० प्रतिशत मात्र कर्जा दिन पाउनेछन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक, वित्तीय संस्थाले पनि व्यक्तिगत सवारीसाधन खरीदमा लागि मूल्यको ६० प्रतिशत मात्र कर्जा दिन पाउने व्यवस्था गरेको थियो । बैंकहरूले विद्युतीय सवारीसाधनमा ८० प्रतिशतसम्म कर्जा दिँदै आएकोमा राष्ट्र बैंकले घटाएपछि व्यवसायीहरूले विरोध गर्दै आएका छन् ।