भैरहवा (रूपन्देही) । नेपाल राष्ट्र बैंक संघ सरकारको केन्द्रिय बैंकको रुपमा रहे जस्तै प्रदेश सरकारको लागि पनि केन्द्रिय बैंक आवश्यक रहेको लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेत नारायण आचार्यले बताएका छन् । उनले प्रदेश सरकार यसको लागि नेपाल राष्ट्र बैंक संग आवश्यक समन्वय र सहकार्य गर्न तयार रहेको बताए ।
आईतबार भैरहवामा आयोजित नेपाल राष्ट्र बैंक सिद्धार्थनगरद्वारा आयोजित ७० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मूख्यमन्त्री आचार्यले वित्तिय अनुसशासन कायम गर्न राष्ट्र बैंकको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन। आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरे ।
उनले बैंकहरूको विषयमा उद्योगी व्यवसायीहरूको गुनासो आउने गरेकोले यसको समधान पनि राष्ट्र बैंककै पाटो रहेको बताए । बैंक तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका हुन ।
यसै गरि लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार भएको बताए । राष्ट्र बैंकको अध्ययन, अनुसन्धानलाई सरकारले नीति तथा कार्यक्रम तर्जुमा गर्दा आधारका रूपमा लिने गरिएको पनि उनले बताए । प्रदेश स्तरमा केन्द्रीय बैंकको रूपमा संस्थाको आवश्यकता महसुस गरिएको उनको भनाइ छ ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँन, सुद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्य लगायतले बोल्दै राष्ट्र बैंकले विश्व स्तरिय मौद्रिक निति र अनुगमनकारी भूमिका निर्वाह गरेको बताउदै भविष्यमा पनि यसलाई कायम राख्न सुझाव दिए । अहिले राजनितिक दबाबका कारण राष्ट्र बैंकलाई प्रभाव पार्न खोजिएको बताउदै उनीहरूले देशकै अर्थतन्त्र राष्ट्र बैंकको नितिमा निहित रहने हुनाले यसलाई स्वतन्त्र राख्नुपर्ने धारणा राखेका थिए।